बेलायती प्रम बोरिसले भने– उपचार हुँदै गर्दा मेरो अन्तिम संस्कारको योजनासमेत बनेको थियो

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले उनलाई कोरोनाभाइरस संक्रमण भएर अस्पतालमा उपचार भइरहँदा उनको अन्तिम संस्कारको योजनासमेत बनेको खुलासा गरेका छन् । उनी अस्पतालमा गम्भीर बिरामी भएको समयमा यस्तो योजनासमेत बनेको उनले बताएका हुन् । 

द सन पत्रिकाका लागि आइतबार दिएको एक अन्तर्वार्तामा बेलायती प्रधानमन्त्री बोरिसले आफूलाई कोरोनाभाइरस संक्रमण भएपछि बाँच्ने आश निकै कम भएको बताएका हुन् । आफूलाई भेन्टिलेटरमा राख्ने वा नराख्नेमा ५०–५० प्रतिशत सम्भावना रहेको पनि उनले बताएका छन् ।

‘मलाई अलिक गाह्रो भएपछि उनीहरुले यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने योजना बनाउन थालेका थिए,’ उनले अन्तर्वार्तामा भनेका छन्, ‘यो अत्यन्त समस्याग्रस्त समय थियो, मैले त्यसलाई इन्कार गर्नु हुँदैन ।’

उनले चिकित्सकहरुले उनको मृत्यु भएमा के गर्ने भन्ने योजना पनि बनाएको अन्तर्वार्तामा बताएका छन् । 

‘उनीहरुले स्टालिनको मृत्युजस्तै मेरो मृत्यु हुँदा के गर्ने भन्ने रणनीति बनाएका थिए,’ उनले भनेका छन्, ‘मलाई जीवित राख्नका लागि कयौँ लिटर अक्सिजनको समेत आवश्यकता परेको थियो ।’

तर, उनले आफ्नो उचित हेरचाह भएको र आफूले रोगलाई जित्न सकेको पनि बताएका छन् । 



जोनसनलाई २६ मार्चमा कोरोनाभाइरस संक्रमण देखिएको थियो । त्यसपछि उनलाई लन्डनको सेन्ट थोमस अस्पतालमा १० दिनपछि लगिएको थियो । त्यसको भोलिपल्टै उनलाई सघन उपचार कक्षमा लगेर उपचार गरिएको थियो ।

बेलायतमा अहिले कोरोनाभाइरस संक्रमितको संख्या एक लाखभन्दा बढी भइसकेको छ । त्यहाँ अब २८ हजार १ सय ३१ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । 
 



 

  • प्रकाशित मिति : बैशाख २१, २०७७ आइतबार १८:२२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया