नेपालगन्जमा थप ६ जनामा देखियो कोरोनाभाइरस, एकैदिन नेपालमा भेटिए १६ जना कोरोनाभाइरस संक्रमित

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या आइतबार ह्वात्तै बढेको छ । 

नेपालगन्जमा मात्र १५ जनामा एकै दिन कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएपछि अब नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७५ पुगेको छ । यसअघि १६ जनाले कोरोनाभाइरस जितेर फर्किइसकेका छन् । 

विशेषगरि भारतीय सीमा क्षेत्रमा धेरै कोरोनाभाइरस संक्रमित भेटिएको नेपालमा आज नेपालगन्जमा तीन दिनअघि भेटिएका संक्रमितको सम्पर्कमा आएका १५ जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो । 

तीन दिनअघि ६० वर्षका एक मौजिनमा पहिलो पटक नेपालगन्जमा कोरोनाभाइरस संक्रमण देखिएको थियो  । यसबीचमा उनले त्यहाँ सयौँ मानिसलाई भेटिसकेको अनुमान भएको छ । अब उनको सम्पर्कमा आएका १५ जनामा कोरोनाभाइरस संक्रमण देखिएपछि स्थानीय प्रशासनले उक्त क्षेत्रलाई सिल गर्ने तयारी गरेको छ ।

तीन दिनअघि भेटिएका कोरोना संक्रमित व्यक्तिले नेपालगन्जका विभिन्न घरघरमा गएर उर्दू तथा जमान पनि पढाउने गरेकाले त्यस क्षेत्रमा थप कोरोनाभाइरस संक्रमित हुनसक्ने अनुमान पनि बढदो छ ।

उनीबाट संक्रमण फैलिएको हुनसक्ने आशंकामा शनिबार दिउँसो डिएसपी रोड क्षेत्रका ७ जना र महेन्द्र पार्क आसपासका ८३ गरी कुल ९० जनाको स्वाब संकलन गरिएको थियो ।



ती मध्येबाट नै १५ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षण अनुसार सुरुमा ९ जना र त्यसपछि थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको उनले बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले अझै केही रिपोर्ट आउन बाँकी नै रहेको बताए । 



‘शनिबार संकलन गरिएको स्वाब मध्येबाट आइतबार कोरोनाभाइरस पोजिटिभ देखियो, अझै धेरै जनाको रिपोर्ट आउन त बाँकी नै छ,’ उनले भनेका छन् । 

६० वर्षिय संक्रमितले दुई महिनाअघि भारत पुगेर आएको बयान दिइसेका छन् । उनी भारतबाट आएपछि पनि मस्जिद तथा मदरसामा नियमित रुपमा जाने गरेका थिए । महेन्द्रपार्क आसपास मुस्लिम समुदायको बाहुल्यता रहेको ठाउँ हो । नेपालगन्जका ६० बर्षिय पहिलो संक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर

क्यान्सर अस्पतालमा स्थापना गरिएको आइसोलेसन कक्षमा राखिएको छ ।

पछिल्लो पटक देखा परेका १५ जना संक्रमित मध्ये ७ वर्षदेखी ६० वर्षसम्मका रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए । ‘६० वर्षका संक्रमित ब्यक्तिको सम्पर्कबाट नै अन्य ब्यक्तिमा संक्रमण फैलिएको आशंका छ,’ उनले भने ‘यि सबै कन्ट्याक्ट ट्रेसिङका संक्रमित हुन् ।’

नयाँ संक्रमितलाई पहिचान गरी खजुरास्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

संक्रमित ब्यक्तिहरु आइसोलेसनमा जान नमान्दा लैजान कठिनाई भएको बाँकेका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक शिव सिंहले बताए । ‘पछिल्लो पटक देखा परेका संक्रमितको पहिचान गरेर उनीहरुलाई आइसोलेसन कक्षमा लैजान खोजेका छौं, तर उनीहरु आइसोलेसनमा जानै मानेका छैनन,’ डिएसपी सिंहले भने ।

  • प्रकाशित मिति : बैशाख २१, २०७७ आइतबार २०:२९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया