क्वारेन्टाइनमा बसेकालाई १४ दिन अघि नै घर पठाइयाे

रसुवामा क्वारेन्टाइनमा बसेकाहरूलाई १४ दिन नपुग्दै छोडिएको छ । काठमाडौं तथा बाहिरी जिल्लाबाट उद्धार गरी ल्याइएका नागरिकलाई क्वारेन्टाइनमा राखिएको १४ दिन नपुग्दै छोडिएको हो । 

जिल्लाका चार गाउँपालिकाको क्वारेन्टाइनमा बसेकालाई आइतबार घर पठाइएको हो । उद्धार गरेर ल्याइएकाहरूलाई केही गाउँपालिकाले क्वारेन्टाइनमा राखेको र केही गाउँपालिकाले सेल्फ क्वारेन्टाइनमा राखेको विषयमा विवाद बढेपछि क्वारेन्टाइनमा राखेका गाउँपालिकाले राखिएको १४ दिन नपुग्दै छोडेका हुन् । 

जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले आइतबार गाउँपालिकाभित्रका तीनवटा क्वारेन्टाइनमा रहेका ८४ जनालाई छोडेको छ । गाउँपालिकाको धुन्चेस्थित कृषि तथा भेटेनरी कार्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा रहेका ६७ जना, स्याफ्रुबेंसीको क्वारेन्टाइनमा रहेका एकजना, टिमुरेको क्वारेन्टाइनमा राखिएका १६ जनालाई सेल्फ क्वारेन्टाइनमा बस्ने गरी छोडिएको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए । 

जिल्लाको उत्तरगया र नौकुण्ड गाउँपालिकाले नियम उल्लंघन गरेपछि समयअगावै आफूहरूले पनि क्वारेन्टाइनमा रहेकालाई छोड्न बाध्य भएको उनको भनाइ छ । सँगै आएकाहरू कसैलाई छोड्ने कसैलाई क्वारेन्टाइनमा राख्ने भन्ने विषयमा दबाब आएपछि बाध्य भएर कार्यपालिकाको बैठक बसेर छोडेको उनले बताए ।

गाउँपालिकाभित्रका तीनवटा क्वारेन्टाइनमा बसेका ८४ जना नागरिक क्वारेन्टाइनमा बसेको १० दिन पुगेको थियो । यसअघि गाउँपालिकाको स्याफ्रुस्थित क्वारेन्टाइनमा बसेका आठजना १४ दिन पूरा गरी घर फर्किएका छन् । उनीहरू अहिले सेल्फ क्वारेन्टाइनमा रहेको गाउँपालिकाले जनाएको छ । 

क्वारेन्टाइनमा बसेकाहरूलाई सेल्फ क्वारेन्टाइनको सम्झौता फारम भराई पठाइएको जनाइएको छ । सेल्फ क्वारेन्टाइनमा बस्नेहरूको सम्बन्धित वडाका वडाध्यक्ष, कार्यपालिकाका सदस्य, वडासदस्य र सम्बन्धित स्वास्थ्य चौकीबाट नियमित अनुगमन हुने बताइएको छ । शनिबार गाउँकार्यपालिकाको बैठक बसेर क्वारेन्टाइनमा रहेकाहरूलाई सेल्फ क्वारेन्टाइनमा बस्ने गरी आइतबार बिहान छोड्ने निर्णय गरेको थियो । 





  • प्रकाशित मिति : बैशाख २२, २०७७ साेमबार ५:१९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया