भारतबाट आएर भागेका १९ जना क्वारेन्टाइनमा

काठमाडौं– भारतीय सीमाका क्वारेन्टाइनमा बसेका नेपालीहरु स्वदेश फर्किएपछि दुई हप्ता क्वारेन्टाइनमा बस्ने शर्तसहित गत बिहीबार स्वदेश ल्याइए पनि कतिपय नागरिक क्वारेन्टाइनमा नबसी घर गएकाले प्रहरीले उनीहरुको खोजी गर्न थालेको छ ।

जिल्लाको दशरथचन्द नगरपालिकाका २१ मध्ये १९ जना क्वारेन्टाइनमा नबसी बाटोबाटै घर गएपछि प्रहरीले खोजी गर्दै क्वारेन्टाइनमा ल्याएको छ । क्वारेन्टाइनमा नबसी घर गएकालाई घरबाटै खोजेर क्वारेन्टाइनमा ल्याएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।

सीमाबाट फर्केका जनप्रतिनिधि, स्वास्थ्यकर्मी नै क्वारेन्टाइनमा बस्न नमानेको उनले बताए । सुदूरपश्चिम प्रदेश सरकारले भारतबाट फर्केका हरेक नागरिकलाई दुई हप्ता क्वारेन्टाइनमा राख्ने निर्देशिका जारी गरेको छ तर त्यसको विपरीत भारतबाट फर्केका घरमा गएपछि प्रहरीले घरबाटै खोजेर क्वारेन्टाइनमा राखेको हो । जिल्लाका अरु ठाउँका नागरिक क्वारेन्टाइनमा नबसेको जानकारी आएको छैन । त्यस्तो जानकारी आएमा प्रहरीले खोजी गरेर क्वारेन्टाइनमा ल्याउने प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए ।

गएको बिहीबार झुलाघाट नाकाबाट एक हजार २९९ नागरिक स्वदेश फर्किएका थिए । त्यस्तै धारचुला नाकाबाट पनि धेरै नागरिक स्वदेश फर्किएका थिए । दुवै नाकाबाट बैतडीको पुर्चौंडीका मात्रै ८४८ स्वदेश फर्किएका छन् ।

यसैबीच कोरोनाको जोखिम बढेको भन्दै बैतडीको भारतसँग सीमा जोडिएका घाटहरू बन्द भएको एक महिना बढी भइसकेको छ । बैसठ्ठी किलोमिटर सीमा क्षेत्रमा सुरक्षार्थ सशस्त्र प्रहरीसमेत खटाइएको छ तर पनि विभिन्न ठाउँबाट ट्युबबाट महाकाली तरेर आउने क्रम अझै रोकिएको छैन । शनिबार मात्रै महाकाली नदी तरेर शिवनाथ गाउँपालिकाका १० भन्दा बढी नागरिक भित्रिएका छन् । 

उनीहरुलाई क्वारेन्टाइनमा राखिएको जनाइएको छ । महाकाली नदीमा ट्युबमार्फत आउने मानिस लुकेर आउँदै सिधै घरमा गएर बसेका हुनसक्ने भएकाले प्रहरीले भारतबाट आएकाहरु खोजी गर्ने कार्य भने तीव्र पारेको छ ।





  • प्रकाशित मिति : बैशाख २२, २०७७ साेमबार १२:३९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया