सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो समय विवाद मत्थर भएपछि अर्थ र सूचना तथा संचारमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभामा समयावधि थपिने सम्भावना पनि बढेको छ । यसअघि उनको स्थानमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई सरकारले सिफारिस गर्ने तयारी रहेको थियो । तर, गौतम स्वयंले आफू राष्ट्रिय सभामा जान नचाहेको बताउन थाले । उनलाई प्रतिनिधिसभामा नै ल्याउने तयारी भएपछि डा. खतिवडाको समय थपिने सम्भावना बढेको हो ।
१४ फागुनमा बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा मनोनित कोटामा लैजाने निर्णय गरेको थियो ।
सचिवालय बैठकमा यस्तो भए पनि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीसमेत रहेका डा. खतिवडालाई नै राष्ट्रिय सभामा निरन्तरता दिन चाहन्थे । त्यसैले पनि कार्यअवधि सकिए पनि डा. खतिवडालाई ओलीले मिर्गौलाको प्रत्यारोपण गर्न अस्पतालमा भर्ना भए पनि सूचना तथा सन्चारको समेत जिम्मेवारी दिएर फेरि मन्त्री बनाएका थिए ।
अब दोस्रो पटक मन्त्री बनेका खतिवडाले यही अवस्थामा २१ साउनसम्म मात्र पदमा रहन पाउँछन् । उनले त्यसपछि पदमा बसिरहनका लागि आफूलाई संघीय संसदको सदस्य बनाउनु पर्ने हुन्छ । यहीबीच अब नेकपाबाट नै उनलाई फेरि सांसद बनाउने तयारी सुरु भएको ओलीनिकट नेताहरु बताउँछन् ।
‘उहाँले नै बजेट ल्याउने भएपछि उहाँको विकल्प खोजिरहनु ठिक नहुने पनि बुझाइ छ,’ नेकपाका एक सचिवालय सदस्यले भने, ‘त्यसैले उहाँ नै मनोनित हुने सम्भावना बढी छ । उहाँका कामबाट प्रधानमन्त्री ओली पनि सन्तुष्ट भएकाले यसको विकल्प सोचिएको छैन भन्ने लाग्छ, अहिलेसम्म सचिवालय बैठकमा चाहिँ यस विषयमा कुराकानी भएको छैन ।’
प्रधानमन्त्री ओलीले चाहिँ केही दिनअघिको मन्त्रिपरिषद् बैठकमा डा. खतिवडालाई लोकप्रिय बजेट ल्याउन निर्देशन दिइसकेका छन् ।
अर्कोतिर डा. खतिवडाले पनि आफू नै अब थप ६ वर्षका लागि राष्ट्रिय सभामा जाने र यो सरकारको पूर्ण अवधि मन्त्री रहने भन्दै कर्मचारीहरुलाई आफूअनुकुल बजेट तयार पार्न निर्देशन दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।