लकडाउनका कारण भारतमै रोकिएका ६ नेपाली महाकाली तरेर नेपाल फर्किए

दार्चुला– लकडाउनका कारण भारतमै रोकिएका ६ जना नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन् । चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर फर्किएका हुन् ।

डिडिहाट क्षेत्रमा मजदुरी गर्न गएका नौगाड गाउँपालिका-३ का वीरेन्द्र ठगुन्ना, नरेशसिंह ठगुन्ना, धनसिंह ठगुन्ना, दीपकसिंह ठगुन्ना, गणेशसिंह ठगुन्ना र महाकाली नगरपालिका-५ का कृष्ण ओड रहेका छन् ।

नौगाड गाउँपालिकाका पाँच जना दत्तुनाका भएर ट्युबमार्फत नेपाल भित्रिएको महाकाली नगरपालिका विपद् शाखा संयोजक भुवन जोशीले बताए । उनीहरु ट्युबमार्फत नेपाल फर्किएका छन् । यस्तै महाकाली नगरपालिका-५ का ओड भने किम्तडीमै पौडी खेलेर फर्किएका छन् ।

लकडाउनका कारण काम बन्द भएपछि अहिले घर फर्किएको नौगाड-३ का वीरेन्द्र ठगुन्नाले बताए । ‘एक महिनादेखि काम बन्द भयो’, उनले भने, ‘नेपाल भारत झोलुङ्गे पुल खुलेको जानकारी नहुँदा अहिले महाकालीमा ट्युब तरेर आएका हौँ ।’ तीन दिन डिडिहाटबाट हिँडेरै धार्चुला पुगेको उनले बताए ।

नेपाल-भारत दुवै देशको सहमतिमा वैशाख १८ गते दार्चुलाका दुई नाका र बैतडीका एक नाकाबाट दुई हजार ६०० बढी नेपाली स्वदेश फर्किएका थिए तर अहिले पनि भारतको पिथौरागढलगायतका क्षेत्रमा काम गर्ने नेपाली महाकाली तरेर आउन रोकिएका छैनन् ।

उनीहरुले ट्युब तरेवापत प्रतिव्यक्ति रु एक हजार ६०० तिरेका छन् । बालुवाकोट पुग्नेबित्तिकै ट्युब चालकल प्रतिव्यक्ति एक हजार भारु मागेपछि सोही अनुसार नदी तरेर आएको स्थानीय दीपक ठगुन्नाले बताए । ‘ठेकेदारले पनि काम गरेको पूरै ज्याला दिएको छैन’, उनले भने, ‘लकडाउन खुलेपछि पुनः मजदुरी गर्न भारतमै जान्छौँ । गाउँमा रोजगारी पाइँदैन, त्यहाँ काम नगरे घरपरिवार कसरी पाल्नु ।’ उनीहरुलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा पठाउने तयारी छ ।





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार १०:२९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया