आजदेखि बजेट अधिवेशन सुरु हुने

सरकारले आर्थिक वर्ष २०७७/०७८को नीति तथा कार्यक्रम जेठ २ गते संघीय संसद्को दुवै सदनमा प्रस्तुत गर्ने भएको छ । शुक्रबारदेखि संसद्को बर्खे अधिवेशन हुने भएपछि संसद् सचिवालयले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यतालिका पनि सार्वजनिक गरेको हो । 

संघीय संसद्को दुवै सदनलाई राष्ट्रपति विद्यादेवी भण्डारी जेठ २ गते चार बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ । बर्खे अधिवेशन शुक्रबार दिउँसो चार बजेदेखि सुरु हुनेगरी आह्वान भएको हो ।

अधिवेशनको पहिलो दिन राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार चार राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरेर कार्यसूचीको टुंगो लगाएका थिए भने राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर छलफल गरेका थिए ।

दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबार, सोमबार र मंगलबार बजेटका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) माथि छलफल हुनेछ । प्रि–बजेटमाथि तीन दिन छलफल भएपछि जेठ २ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।

जेठ १५ गते सरकारले वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण बजेट ल्याउने दिनको १५ दिनअगावै प्रि–बजेटमाथिको छलफल गर्न लागिएको हो । 





  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार ९:३५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया