काेराेनाका कारण न्याय प्रभावित: प्रधानन्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कोरोना भाइरसका कारण न्यायक्षेत्र गम्भीर रूपले प्रभावित भएको बताएका छन् ।

कानुन दिवसको पूर्वसन्ध्यामा बिहीबार शुभकामना वक्तव्य जारी गर्दै प्रधानन्यायाधीश राणाले अहिलेको अवस्थामा न्याय सेवा खुम्चिएको उल्लेख गर्दै जीवन रक्षा भएमा अन्य अधिकारहरू विस्तारै समाधान हुँदै जाने बताएका छन् । २००९ साल वैशाख २६ मा प्रधानन्यायालय ऐन २००८ लागू भएको अवसरको सम्झनामा कानुन दिवस मनाइँदै आएको छ । 

‘महामारीको प्रभाव स्वभावतः न्यायक्षेत्रमा पनि परेको छ । नेपाललगायत महामारीबाट प्रभावित देशका अदालतहरूले संकुचनसहितको न्याय सम्पादन र सेवा प्रवाहको व्यवस्थापन गर्दै आएका छन् । यसबाट न्याय प्राप्तिमा पुग्न गएको असुविधालाई परिस्थितिजन्य बाध्यताको रूपमा बुझ्न पनि सम्बन्धित सबैमा हार्दिक आग्रह गर्दछु ।’

सम्पूर्ण मानव समुदायको सरोकार र विश्वव्यापी बहुआयामिक प्रभावहरू रहेको शताब्दीकै ठुलो महामारीले पेण्डामिक जस्टिससम्बन्धी छुट्टै विधिशास्त्र विकासको आवश्यकता रहेकोसमेत प्रधानन्यायाधीश राणाले उल्लेख गरेका छन् । 

न्यायिक इतिहासको अत्यन्त जटिल र कठिन परिस्थितिहरूमा पनि स्वतन्त्र न्यायपालिकाको मूल्य–मान्यतालाई अक्षुण्ण राख्दै विधिको शासन तथा नागरिकको हक–अधिकारको संरक्षणका लागि न्यायपालिकाले महत्वपूर्ण भूमिका खेल्दै आएको पनि प्रधानन्यायाधीश राणाले उल्लेख गरेका छन् ।

वक्तव्यमा भनिएको छ, ‘न्यायपालिकाको नेतृत्वको हैसियतबाट नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चिितताको लागि सदा क्रियाशील रहने कुराको प्रतिबद्धता समेत व्यक्त गर्दछु । त्यसमा कहीं कतैबाट कुनै किसिमको आँच आउन नदिन आफू सदैव सचेत, गम्भीर र संवेदनशील रहेको पनि म यस अवसरमा स्पष्ट गर्न चाहन्छु ।’ 





  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार १०:२५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया