काठमाडौं– संसारभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले अफ्रिकालाई पनि आक्रान्त पारेको छ । यसैबीच अफ्रिकामा कोरोनाका कारण यस वर्ष एक लाख ९० हजार मानिसको मृत्यु हुनसक्ने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दिएको छ ।
डब्लुएचओको अध्ययनअनुसार रोकथामको उपाय सफल नभए कोरोना भाइरसको महामारीले अफ्रिकामा ठूलो नोक्सानी पुर्याउन सक्ने देखिएको हो । अफ्रिकाका ४७ मुलुकमा गरिएको विश्लेषणको आधारमा तयार पारिएको अध्ययनअनुसार अल्जेरिया, दक्षिण अफ्रिका र म्यानरुनमा कोरोना भाइरसको महामारी फैलिने खतरा बढी देखिएको छ ।
अफ्रिकामा अत्यधिक संख्यामा मानिसहरु अस्पतालमा भर्ना भइरहेको कारण अफ्रिकाको स्वास्थ्य सेवा चुनौती बन्न सक्ने बताइएको छ । अध्ययनमा अफ्रिकी मुलुकहरुलाई आफ्नो अस्पतालको क्षमता बढाउन सुझाब दिइएको छ । यसअघि नै डब्लुएचओले अफ्रिकाको लागि आगामी दिन निकै चुनौतीपूर्ण हुनसक्ने चेतावनी दिएको थियो ।
एक अध्ययनका अनुसार, अफ्रिकामा औसतमा १० लाख मानिसका लागि केवल ९ आइसियु वार्ड रहेको तथ्यांक सार्वजनिक भएको थियो । गत मार्चमा गरिएको अध्ययनले यस्तो तथ्यांक देखाएको हो । त्यसपछि पनि उल्लेख्य मात्रामा स्वास्थ्यसंस्थाको क्षमतामा सुधार नआएकाले विश्व स्वास्थ्य संगठनले पछिल्लो चेतावनी सार्वजनिक गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।