के छ बाबुराम भट्टराईको आँसु आएको र संसदमा उनले उल्लेख गरेको भिडियोमा ?

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले आज संसदमा बोल्दै अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको एक भिडियोको प्रसंग निकाले छन् । 

उनले भिडियोमा विदेशमा रहेका नेपालीहरुको दर्दनाक अवस्थाले गर्दा जोसुकैको आँखामा पनि आँसु आउने, आत्मा पग्लिने बताएका छन् । 

सरकारले विदेशमा भएका नेपालीहरुलाई देश फर्किन नदिएको र विदेशमा चाहिँ नेपालीहरुलाई त्यहाँको सरकार र प्रशासनले नेपालीलाई फर्किएर जान भनेको कुरा उल्लेख भएको यो भिडियो भारतको हो ।

डा. भट्टराईले त संसदमा यो भिडियो हेर्दा पनि आँखाबाट आँसु आएन भने हामी आफैंले हामी मानव हौँ कि होइनौँ भनेर सोध्नु पर्ने बताएका थिए । 

खासमा यो भिडियो के हो त ? 

यो भिडियो हो, भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई भारतीय अधिकारी र प्रहरीले गरेको हप्कीदप्कीको भिडियो ।



भिडियोमा सुरुमा एक भारतीय अधिकारीले भन्छन्– दुई बजेपछि यहाँबाट बाहिर लगेर छोडिन्छ, त्यसपछि तिमीहरु यहाँ भारत फर्किएर नआउ । 

अनि नेपालीले एक जनाले सोध्छन्– त्यसो हो भने यहाँ ग्रुपसँग त भेट्न मिल्छ हैन ? 



त्यसपछि एक महिलाले भन्छिन्– के तिमीहरुलाई भारत सरकारले यहाँ ल्याएर राखेको हो ? के तिमीहरुलाई भारत सरकारले यहाँ आउ भनेर बोलाएको हो ? 

उनको नै आवाज अझ चर्को सुनिन्छ, ‘तिमीहरु यहाँ पैसा कमाउन आएको होइन ? तिमीहरुको सरकारले कुनै वास्ता गर्दैन भने हामीले किन गर्ने ? के भारत सरकारसँग तिमीहरुलाई पाल्ने पैसा छ ? १५– २० दिन त तिमीहरुलाई यहाँ राखिहालियो नि ।’

त्यहाँ एउटा ग्राउन्डमा राखेर नेपालीहरुलाई निकै कडा शब्दहरुमा जान भनिएको छ । नेपालीहरुले भिडियोमा निकै अनुरोध गरेका छन् । ‘हामीलाई त यहाँबाट निकालिदिने होइन, हामी १६–१७ जना छौँ,’ उनले भनेका छन्, ‘हामी किन झगडा गथ्र्यौँ ?’

उनले त्यसपछि आफूहरुलाई जसरी निकाल्नु छ निकालेर जसरी मार्नु छ, मारे हुने पनि भन्छन् । ‘तपाईंहरुसँग योभन्दा बढी अनुरोध हामीले गर्न सक्दैनौँ नि होइन,’ ती नेपालीले भनेको सुनिन्छ ।
 

  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार १८:५४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया