नेपाली भूमि लिपुलेकलाई फेरि आफ्नो भन्दै भारतले खोल्यो मानसरोवर जाने बाटो

भारतले फेरि नेपाली भूमिलाई आफ्नो दाबी गर्दै नेपाली माटो हुँदै आफ्नो सडक खोलेको छ । यसअघि पनि विवादमा आएको लिपुलेकलाई आफ्नो भन्दै भारतले चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने बाटो खोलेको छ । 

भारतका रक्षामन्त्री राजनाथ सिंह स्वयंले यो सडक उद्घाटन गरेको तस्वीर आफ्नो सामाजिक सन्जालमा राखेका छन् । उनले यो बाटो भिडियो कन्फ्रेन्सबाट उद्घाटन गरेका हुन् ।

यसअघि भरातले जम्मूकश्मिरलाई दिएको विशेष राज्यको दर्जा अन्त्य गरेपछि जारी गरेको राजनीतिक नक्सामा पनि नेपाली भूमिलाई आफ्नो राजनीतिक नक्सामा राखेको थियो ।

यसअघिको यो विवाद अहिलेसम्म साम्य भएको छैन । नेपालको परराष्ट्र मन्त्रालयले आवश्यक तयारी र पूर्वसावधानी नलिँदा यस्तो भएको हो । कूटनीतिक पहलबाट यो समस्या समाधान गरिने भनिएको भए पनि अहिलेसम्म यसबारे खासै केही प्रगति भएको छैन । 

अब फेरि नेपाली भूमिमै चीनसँग सीमा जोड्ने नाकासम्म सडक मार्ग निर्माण गरेपछि समस्या उत्पन्न भएको छ ।



सिंहले भारतको भारतको उतराखण्डको धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्गको भारतीय सेना प्रमुखसहित उपस्थित रहेको कार्यक्रममा उद्घाटन गरेका हुन् । सिंहले उक्त सडक निर्माण गरेकोमा भारतको बोर्डर रोड अर्गनाइजेसन ९बीआरओ० लाई धन्यवादसमेत दिएका छन् । सिंहले ट्वीट गर्दै बीआरओले सीमा जोड्नको लागि केही वर्षदेखि उत्कृष्ट काम गर्दै आएकोमा धन्यवाद समेत दिएका छन् ।

यसअघि पनि बारम्बार नेपालका सीमाविद्हरुले उक्त भूभाग नेपालको भन्दै आएका थिए । सीमाविद् बुद्धिनारायण श्रेष्ठले भन्दै आएका छन्, ‘उक्त ठाउँ लिम्पियाधुराभन्दा निकै वर पर्छ । त्यसको मतलब उक्त भूमि शतप्रतिशत सोह्रै आना नेपालकै हो ।’



तर, भारतले यो ठाउँमा सडक बनाएको विषयमा अहिलेसम्म नेपाल सरकारलाई कुनै जानकारी छैन । जानकारी भएकै भए पनि नेपाल सरकारले यसबारे अहिलेसम्म कुनै चासो दिएको देखिँदैन ।

यसअघि विवाद हुँदा चाहिँ प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकसमेत बोलाएका थिए । तर, त्यसपछि नेपाल सरकारले नेपाल भारत सीमा विवाद समाधान गर्नका लागि कुनै ठोस पहल अगाडि बढाएको छैन । 

 

  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार २०:८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया