लिपुलेक हुँदै मानसरोवर जाने बाटो नेपाली भूमिमा बनाएपछि चर्को आलोचना भएको भारत सरकारले अब आफ्नो जवाफ दिएको छ । नेपालमा यसबारे दूतावास अगाडि नै विरोध प्रदर्शन हुन थालेपछि भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसको जवाफ दिएको हो ।
अब भारतीय विदेश मन्त्रालयले आफूहरुले आफ्नै भूमिमा बाटो बनाएको जनाएको छ ।
यसअघि यो बाटो भारतीय गृहमन्त्री राजनाथ सिंहले उद्घाटन गरेका थिए । भर्चुअल रुपमा उद्घाटन भएको बाटो नेपाली भूमिमा पर्छ ।
नेपाल सरकारले चाहिँ परराष्ट्र मन्त्रालयमार्फत् एक विज्ञप्ति जारी गर्दै नेपाली भूमिमा गतिविधि नगर्न अनुरोध गरेको थियो ।
भारतीय विदेश मन्त्रालये यो बाटो पहिले नै मानसरोवर जाने बाटो भएकाले आफ्नै भूमिमा पर्ने दाबी गरेको छ ।
त्यसो त यसअघि पनि जम्मूकश्मिरलाई विशेष राज्यबाट हटाएपछि भारतले आफ्नो राजनीतिक नक्सामा लिपुलेक समावेश गरेको थियो । त्यति बेला पनि नेपालमा विरोध भएपछि उसले आफूले अरु कुनै देशको भूमि आफ्नो नक्सामा नसमेटेको बताएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।