चाँगुनारायणमा पनि राहतकाे सट्टा राेजगारी

लकडाउनका कारण प्रभावित भएका मजदुर, किसान र अतिविपन्न परिवारका लागि चाँगुनारायण नगरपालिकाले ‘खाद्यान्नका लागि रोजगारी’ कार्यक्रम सुरु गरेको छ । कोरोना भाइरसको महामारीका कारण विश्व नै प्रताडित भएका वेला चागुनारायणले राहतमा खर्च हुने रकमको सही उपयोग गर्न नयाँ कार्यक्रम अघि सारेको हो ।

चागुनारायण नगरपालिकाले एक चरणको राहत वितरण गरेको थियो । त्यसपछि १५ वैशाखमा कार्यपालिकाबाट निर्णय गरी राहत आवश्यक भएका व्यक्तिहरूलाई सार्वजनिक श्रम गरेपछि मात्रै राहतबराबरको रकम उपलब्ध गराउन थालेको हो ।

नगरपालिकाले वितरण गर्ने राहतमा लक्षित वर्गभन्दा अन्यको बढी हालीमुहाली हुने र गुनासो आउने भएपछि वास्तविक श्रमिक, ज्यालादारी गरिखाने, अतिविपन्न परिवारका लागि रोजगारी दिने कार्यक्रम अघि सारेको मेयर सोमप्रसाद मिश्रले बताए । ‘पहिलो चरणमा राहत बाँडियो, त्यसवेला छाक टार्नै समस्या नभएकाहरू पनि लाइनमा उभिए,’ मेयर मिश्रले भने, ‘राहतको दुरुपयोग बढी हुने देखेपछि यस्तो निर्णय गरेका हौँ ।’ 

चागुनारायणले अपांगता भएका, एकल महिला, ज्येष्ठ नागरिक र अशक्तलाई भने घरमै राहत सामग्री पुर्‍याउने गरेको छ । तर, श्रम गर्न सक्नेलाई भने सातामा दुई दिन श्रम गर्न लगाउने र त्यसबापत पाएको पारिश्रमिकले खाद्यान्नलगायत सामग्री खरिद गरी उपभोग गर्नुपर्ने कार्यक्रम बनाएको हो । ‘खानै नपुग्ने अवस्थाका परिवारबाट एकजनालाई सातामा दुई दिन सार्वजनिक श्रममा लगाउँदै छौँ, श्रम गरेपछि उनीहरूलाई नगदै पारिश्रमिक दिएका छौँ,’ चागुनारायण– ८ का अध्यक्ष परासर सापकोटाले भने । 





  • प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार २२:२४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया