अब नेपालमा पनि पिसिआर प्रविधिबाट कोरोनाभाइरस संक्रमण परीक्षण गर्ने क्षमता बढेको छ ।
हिजोसम्म २४ घन्टामा कम्तिमा पनि १३ सय जनाको कोरोनाभाइरस परीक्षण पिसिआर प्रविधिबाट भएको थियो । अब यो संख्या बढेर विगत २४ घन्टामा २७ सय ९९ जनाको परीक्षण पिसिआर परीक्षणबाट गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको दैनिक बिफ्रिङमा प्रवक्ता डा. विकास देवकोटाले जनाएअनुसार अब नेपालमा पिसिआर प्रविधिबाट १७ हजार ८ सय ९ जनाको कोरोनाभाइरस परीक्षण भएको छ ।
स्विट्जरल्यान्ड सरकारले सहयोग गरेको ३० हजार थान पिसिआर किट र चीनबाट सहयोगस्वरुप आएका किट प्रयोगमा ल्याउन थालेपछि नेपालमा पिसिआर विधिबाट हुने परीक्षण बढेको हो ।
यसलाई अझ बढाउने नेपाल सरकारले लक्ष्य लिएको छ ।
सोमबार नेपालमा ११ जना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा अब कोरोनाभाइरस संक्रमितको संख्या १२१ पुगेको छ । यीमध्ये ३३ जना ठिक भएका छन् ।
अहिलेसम्म नेपालमा ८९ पुरुष र ३२ जना महिलामा कोरोनाभाइरस संक्रमण देखिएको हो । योमध्ये सबैभन्दा धेरै प्रदेश १ मा ३५ जना र त्यसपछि प्रदेश २ मा ३२ जना संक्रमित भेटिएका हुन् ।
कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।