अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा प्रत्येक दिन १ लाख ५० हजारदेखि ३ लाख मानिसको कोरोनाभाइरस संक्रमणबारे परीक्षण भइरहेको जनाएका छन् ।
उनले सोमबारसम्म अमेरिकामा ९० लाखभन्दा धेरैको कोरोना परीक्षण भएको दाबी गरेका छन् । यसमा जम्मा १३ लाख ३७ हजार मानिसमा मात्र कोरोनाभाइरस संक्रमण देखिएको पनि उनले बताएका छन् ।
अमेरिकामा अब कोरोनभाइरसका कारण मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ । जोन हप्किङ्स विश्वविद्यालयका अनुसार अमेरिकामा यो भाइरसका कारण ८० हजार ८७ जनाले ज्यान गुमाएका छन् ।
ट्रम्पले आफ्नो सम्बोधनमा अर्को वर्ष अमेरिकी अर्थतन्त्र राम्रो अवस्थामा पुग्ने पनि आशा देखएका छन् । उनले अब आउने वर्ष सबैभन्दा राम्रो वर्ष हुने पनि दाबी गरेका छन् । यसका लागि उनको तर्क छ– बजारमा माग अत्यन्त धेरै हुनेछ ।
अमेरिकामा पछिल्लो सातासम्मको तथ्यांकअनुसार कम्तिमा पनि ३ करोड ३० लाख बेरोजगार भएका छन् ।
ह्वाइट हाउसका कर्मचारीमा कोरोना संक्रमण देखिएको विषयमा चाहिँ ट्रम्पले भनेका छन्, ‘एक जनामा पोजेटिभ देखिएको छ । तर, आश्चर्य के भने एक दिन पहिले मात्र उनी नेगेटिभ देखिएका थिए । यो अदृश्य दुश्मन हो, लुकेको दुश्मन हो । यो अदृश्य दुश्मन हो र हामीले यसबारे ख्याल गर्नुपर्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।