हातहतियार मुद्दामा हिरासतमा रहेका वडाध्यक्ष धरौटीमा छुटे

म्याग्दी –हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुजा धरौटीमा छुटेका छन् । जिल्ला अदालत म्याग्दीका न्यायाधीश माधवेन्द्रराज रेग्मीको मङ्गलबारको इजलासले शेरपुजालाई धरौटीमा छाड्न आदेश गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा शेरपुजाले आफूसँग गोली रहेको स्टाटस राखेपछि प्रहरीले घर खानतलासी गरेको थियो । २०७६ चैत ३० गते शेरपुजाको घरमा खानतलासी गर्दा प्रहरीले एक थान बाह्रबोरको गोली बरामद गरेको थियो ।

हातहतियार राख्ने अनुमति नलिएका शेरपुजाको साथमा रहेको गोली अवैध भएको पुष्टि भएपछि प्रहरीले हातहतियार तथा खरखजना मुद्दा चलाएको थियो । अदालतको आदेशानुसार शेरपुजा रु दुई लाख ५० हजार धरौटी बुझाएर छुटेका म्याग्दी जिल्ला अदालतका श्रेस्तेदार खिलप्रसाद बुर्लाकोटीले बताए । जिल्ला सरकारी वकिल कार्यालयले शेरपुजाविरुद्ध सात वर्ष कैद र रु ७० हजार जरिवानाको माग दाबी गरेको थियो ।

शेरपुजा विसं २०७४ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उमेद्वार बनेका थिए । स्थानीय चुनावअघि काँग्रेसमा प्रवेश गरेका शेरपुजा रघुगङ्गा पालिका कार्यसमितिको सचिवसमेत छन् । फौजदारी अभियोग लागेकाले अदालतबाट अन्तिम फैसला नहुँदासम्म उनको पद निलम्बन हुने कानूनी व्यवस्था छ ।





  • प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार ११:१८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया