Mon, 25 May, 2020


अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने
फरकधार / जेठ २, २०७७

आगामी आर्थिक वर्षमा सरकारले बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने भएको छ । 



सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त कार्यक्रम रहेको जनाएकी हुन् ।

'भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन संचालनमा आएको छ,' राष्ट्रपति भण्डारीले भनिन्, 'आगामी वर्ष बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन बिस्तार गरिनेछ ।'

यसले पेट्रोलियम पदार्थको ढुवानीमा सहजता हुने र वातावरणीय प्रदुषण पनि न्यून हुने राष्ट्रपतिको विश्वास छ ।

त्यस्तै, आगामी आर्थिक वर्षमा नै भारतको सिलिगुढीदेखि झापाको चारआलीसम्म पेट्रोलिय पाइपलाइनको अध्ययन सम्पन्न गरी निर्माण प्रक्रिया अगाडि बढाइने सरकारको योजना रहेको राष्ट्रपतिले जानकारी दिइन् ।

तीन जिल्लामा पेट्रोलियम पदार्थको नयाँ भण्डारण स्थल निर्माण गरिने भएको छ । 'चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थ भण्डारणको निर्माण कार्य अगाडि बढाइनेछ,' राष्ट्रपतिले बताइन् ।

झापा र धनुषामा ग्यास बोटलिङ कार्य अगाडि बढाउने सरकारको योजना रहेको राष्ट्रपतिले जानकारी दिइन् ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्