सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– १ का ३० वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै गाउँ नै सिल गरिएको छ ।
संक्रमण पुष्टि भएपछि गाउँपालिकाको समन्वयमा शनिबार अपराह्नदेखि गाउँ सिल गरिएको सिराहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले बताए । गाउँपालिका अध्यक्ष केदारनाथ यादवले संक्रमित भेटिएको गाउँ क्षेत्रमा शनिबार बिहान ११ बजेदेखि नै घरबाट ननिस्किन सचेत गराउँदै माइकिङ गर्न थालिएको बताए ।
जिल्ला विपत् व्यवस्थापन समितिका सदस्यसमेत रहेका नेपाली सेनाको चोहर्बास्थित शेर गणका प्रमुख सेनानी जितेन्द्रकुमार गौलीले आइतबार बिहानदेखि टोली गाउँ पुगेर थ्रोट स्वाब संकलन गरिने बताए । उनले संक्रमित गाउँ फर्किएदेखि नै सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङको काम पनि गरिने बताए ।
गत २९ र ३० वैशाखमा जिल्लाका आठ ठाउँमा पिसिआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएका एक सय ६८ मध्ये शनिबार साँझसम्म १९ जनाको रिपोर्ट आएको छ । त्यसमा १८ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सिराहाले जनाएको छ । प्रदेश २ को सिराहाबाहेकका सबै जिल्लामा यसअघि नै कोरोना संक्रमित भेटिए पनि सिराहामा भने शनिबार मात्रै पहिलो संक्रमित भेटिएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।