बालाजुमा तरकारी पसल गर्थिन् कोरोनाभाइरसबाट मृत्यु भएकी महिला

लकडाउनको ५४ औं दिन र नेपालमा पहिलो पटक कोरोनाभाइरस संक्रमित भेटिएपछिको चार महिनापछि नेपालमा कोरोनाका कारण पहिलो व्यक्तिको मृत्यु भएको छ ।

सिन्धसपाल्चोकको बाह्रबिसे–९ घर भएकी यी महिला २९ वर्षकी भएको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा उल्लेख छ। 

यी महिला ९ दिनअघि सुत्ेकरी भएपछि बाह्रबिसे घरमा पुगेकी थिइन् । उनले ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा बच्चालाई जन्म दिएकी थिइन् । त्यति बेला उनको स्वास्थ्य सामान्य भएको र नर्मल डेलिभरी पछि उनलाई डिस्चार्ज गरिएको थियो । 

डिस्चार्ज गरेपछि बाह्रबिसे घरमा गएकी उनलाई भोलिपल्ट नै समस्या देखिएको थियो । केही दिनमा उनी त्यहाँको स्थानीय मेडिकलमा जचाउन पनि पुगेकी थिइन् । मेडिकलले उनलाई एकपटक धुलिखेल अस्पताल जान भनेको थियो । तर, उनको परिवारले सुत्केरी भएपछि सामान्य समस्या देखिएको होला भन्ने अनुमानमा उनलाई तत्काल अस्पताल ल्याएन । 

तर, बिहीबार अचानक सास फेर्न न समस्या भएपछि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो । त्यहाँ उनको उपचारको क्रममा मृत्यु भयो ।

त्यसपछि अस्पतालले उनको थ्रोट स्वाब लिएर परीक्षण गर्यो । उनमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भयो । आरडिटी र पिसिआर दुवै परीक्षणमा पोजेटिभ आए पनि अस्पतालले पुन कन्फर्मेसनका लागि उनको स्वाब टेकुस्थित राष्ट्रिय स्वास्थ्य प्रयोगशालामा पनि पठायो । त्यहाँ पनि उनको कोरोनाभाइरस पोजेटिभ आयो । उनका श्रीमान र नवजात शिशुलाई अहिले पनि धुलिखेल अस्पतालमा राखिएको छ ।



टेकुको पिसिआर परीक्षणमा पोजेटिभ देखिएपछि स्वास्थ्य मन्त्रालयको एक टोली धुलिखेलको अस्पतालमा पुगेको छ । त्यहाँबाट महिलाको शव आर्यघाट ल्याइएको छ । आर्यघाटमा उनको विद्युतीय शवदाह गृहमा अन्त्येष्टी गरिँदै छ ।

त, यी महिला खासमा पहिले काठमाडौंमा नै बस्ने गरेको खुलेको छ । उनको बालाजुमा तरकारी पसल रहेको र श्रीमानसँग मिलेर उनले तरकारी पसल गर्ने गरेको खुलेको छ ।



‘उहाँको तरकारी पसल यहाँ भएको त थाहा भयो तर केही समयअघि देखि नै उहाँलाई पसलमा देखिएको थिएन,’ बालाजुका एक स्थानीयले यो घटनापछि फरकधारसँग भने, ‘सायद गर्भवती भएकाले होला, उहाँ पसलमा देखिनु भएको थिएन ।’ उनका अनुसार विगत दुई महिना यता उनी पसलमा देखिएकी थिइनन् ।

उनका श्रीमान पहिले नेपाली सेनामा कार्यरत रहेको पनि खुलेको छ ।

  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार २२:१६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया