कोरोना ठिक गर्ने भन्दै सांसदले प्रधानमन्त्रीलाई दिए मह

विश्वभर वैज्ञानिकहरु कोरोनाभाइरसको खोप र औषधी पत्ता लगाउन निकै मिहनेत गरिरहेका छन् । बेलायत र अमेरिका लगायतका देशले कोरोनाको औषधी बनाउने कामलाई द्रुत गतिमा बनाउन विशेष समूहरु नै गठन पनि गरेका छन् । 

तर, अहिलेसम्म यसले उपलब्धि हासिल गर्न सकेको छैन । 

यता, नेपालमा मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले कोरोनाभाइरस संक्रमितको उपचारमा प्रभावकारी हुनसक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिमाली क्षेत्रमा पाइने मह नै दिएका छन् ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइने मह कोरोना संक्रमितको उपचारका लागि प्रभावित हुने भन्दै प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई समेत मह दिएको उनले बताएका छन् । 

विश्वभर कुनै पनि वैज्ञानिकले थाहा नपाएको यस्तो गुह्य कुरा तुलाचनले कसरी थाहा पाए त ?

आइतबार प्रतिनिधिसभा बैठकमा उनले यसको पनि जानकारी दिएका छन् । 



उनले भने, ‘धर्मगुरुले संक्रमित कोही भए हिमाली र उच्च पहाडी क्षेत्रमा पाइने मह सेवन गराउनुस् त्यसले उपचार हुन सक्छ भन्ने सुझाव आयो, त्यस अनुसार मैले सम्माननीय प्रधानमन्त्रीलाई लिखित रुपमा नै परीक्षणका गरिदिनुस् भनेर स्वास्थ्यमन्त्रीलाई पनि बोधार्थ दिएको छु ।’

तुलाचन त यसबाट सकारात्मक नतिजा आउनेमा पनि विश्वस्त छन् । उनले यसको सकारात्मक नतिजा आएपछि विश्वभर नेपाली मह र जडिबूटीको प्रचार हुनेसमेत बताए । अनि विश्वबजारमा कसैले पनि कोरोनाभाइरसबाट ज्यान गुमाउन नपर्ने पनि उनले बताए । 



योसँगसँगै उनले आउँदो बजेटमा हिमाली क्षेत्रमा जडिबुटीको अनुसन्धानका लागि केन्द्र खोल्न बजेट छुट्याउनु पर्ने माग पनि राखेका छन् । 

  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार १९:२०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया