खाेटाङमा फाैजी किराले किसान तनावमा

खोटाङका अधिकांश स्थानीय तहमा अमेरिकन फौजी किरा (फल आर्मी वर्म)को प्रकोप फैलिएको छ । अघिल्ला वर्षसम्म केही नगरपालिका र गाउँपालिकाको बेँसी क्षेत्रमा देखा परेको अमेरिकन फौजी किरा यस वर्ष जिल्लाका १० वटै स्थानीय तहमा फैलिएको हो ।  

गत वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी लगायतका ठाउँमा लगाइएको बालीनाली तथा वनजंगल नै सखाप पारेको अमेरिकन फौजी किराले यसपल्ट अधिकांश गाउँपालिकाको बेँसी क्षेत्रका मकै सखाप पार्न थालेको छ । तीन/चार पात पलाउँदादेखि नै फौजी किराले मकैको बिरुवालाई आक्रमण गरेपछि उत्पादन घट्नेमा किसान चिन्तित छन् ।

दुई नगरपालिका र आठ गाउँपालिकामध्ये जन्तेढुंगा गाउँपालिकामा अमेरिकन फौजी किराको प्रकोप अलि कम देखिएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए ।  

फौजी किराले प्रमुख बालीका रुपमा लगाइएको मकैको बिरुवाको मुन्टा, गुभा, पात खाएर नष्ट गर्ने गरेको छ । प्रकोप देखिएको क्षेत्रमा विषादि हाल्दा फौजी किरा नियन्त्रणमा आए पनि नयाँ–नयाँ ठाउँमा फौजी किरा फैलिने गरेको निमित्त प्रमुख राईले बताए । बेँसी क्षेत्रका खेत र बारीमा लगाइएको मकैमा फौजी किरा अधिक देखिएको लेकाली क्षेत्रमा भने नदेखिएको किसान बताउँछन् ।

‘यस पल्ट सबै पालिकाका फौजी किराको प्रकोप देखिएको छ, कुनै पनि पालिका अछुतो रहेन,’ निमित्त प्रमुख राईले भने, ‘उपचार गरेको ठाउँमा फौजी किरा नियन्त्रणमा आएको देखिन्छ तर नयाँ ठाउँमा देखा पर्दै आएकाले समस्या सिर्जना गरेको छ ।’  





  • प्रकाशित मिति : जेठ ९, २०७७ शुक्रबार १७:५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया