Mon, 06 Jul, 2020


किसानको राष्ट्रिय बजार सञ्जाल निर्माण गर्ने कृषिमन्त्रीको प्रतिबद्धता
फरकधार / जेठ १२, २०७७

काठमाडौँ– कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले आगामी आर्थिक वर्षदेखि किसानको राष्ट्रिय बजार सञ्जाल निर्माणको काम सुरु गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसँग आज भर्चुअल संवाद गरी उनले यो प्रतिबद्धता जनाएका हुन् ।



छलफलमा सङ्घीय, प्रदेश र स्थानीय सरकारको बजेट किसानको राष्ट्रिय बजार निर्माणमा केन्द्रित गर्ने सहमति भएको छ । ‘सुरक्षित कृषि, सुनिश्चित बचत’ कार्यक्रमअन्तर्गत किसानको आफ्नै राष्ट्रिय बजार निर्माण गरिने भएको हो । यसका लागि काठमाडौँ उपत्यकाका नगरप्रमुखसँग छलफल भइसकेको छ ।

मन्त्री भुसालले सङ्घीय सरकारले किसानको आफ्नै राष्ट्रिय बजार निर्माण गर्ने गरी बजेट ल्याउने जानकारी दिँदै प्रदेश सरकारलाई पनि त्यहीअनुसार बजेट ल्याउन आग्रह गरे । त्यसका लागि ७५३ वटै स्थानीय तहमा कृषि सेल निर्माण सुरु गरिनेछ । 

मन्त्री भुसालले हरेक स्थानीय सरकारसँग आफ्नो छुट्टै संकलन विधि, भण्डारणगृह र वितरण प्रणाली हुने व्यवस्था सुरु नगरे कृषि क्षेत्र बचाउन नसकिने भएकाले किसानको वैकल्पिक बजारको राष्ट्रिय नेटवर्क बनाइने जनाए ।

छलफलमा प्रदेशका मन्त्रीहरु पनि किसानले उत्पादन गरेको उपज बजारसम्म नपुग्ने, तर बजारमा भने अन्य मुलुकबाट उपभोग्य सामग्री आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्न किसानको राष्ट्रिय बजार निर्माण गर्ने प्रस्तावमा सहमत भएका थिए । 

कोरानो महामारीबाट आहत  कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन तीनै तहका सरकारबीच समन्वय हुन लागेको हो । मन्त्री भुसालले आगामी बजेटबारे गत फागुन २५ र २६ गते सातै प्रदेशका मन्त्रीहरुसँग छलफल गरेका थिए ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्