डा. गाेविन्द केसीले २० जेठबाट दुई दिन सत्याग्रह गर्ने

डा. गोविन्द केसीले सर्वसाधारणको जीविकाको उचित व्यवस्था गर्न र नेपाली भूमि फिर्ताको प्रक्रिया सुरु गर्न माग गर्दै दुई दिने सत्याग्रह घोषणा गरेका छन्। दार्चुलामा रहेका उनले सोमबार विज्ञप्ति जारी गरेर शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा नेपालको सार्वभौमसत्ताको रक्षा गर्दै भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्न माग गर्दै जेठ २० गतेदेखि दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका हुन् ।  

उनले विगतका अनशनमा सरकारसँग भएको सहमति कार्यान्वयन गर्न पनि माग गरेका छन्। त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठताका आधारमा डिनलगायतका पदाधिकारी नियुक्तिलगायतका सम्झौता कार्यान्वयन गर्न तथा गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलामलगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाउन पनि केसीले माग गरेका छन्। गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउन तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गर्न पनि उनले माग गरेका छन्।

‘सर्वसाधारणको जीविका सहज बनाउन पनि नसक्ने, तिनको शिक्षा र स्वास्थ्यको प्रबन्ध पनि गर्न नसक्ने अनि अर्काले आफ्नो भूमि हडपेर सडकलगायतका संरचना बनाइसकेपछि मात्रै थाहा पाउने हो भने यो सरकारको भूमिका र औचित्य के भन्ने प्रश्न उठेकाबारे पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौं,’ उनले विज्ञप्तीमा भनेका छन्।

सुदूरपश्चिमको डडेल्धुरामा सबै विषयका विशेषज्ञसहितको सरकारी मेडिकल कलेज भए दार्चुलालगायत बझाङ, बाजुरा, बैतडी, अछाम, डोटीलगायतका जिल्लाका स्थानीयलाइ फाइदा पुग्ने विज्ञप्तिमा भनिएको छ।

ब्याँस गाउँपालिकामा डा. केसीले एक हप्ता स्वास्थ्य सेवा दिने जनाइएको छ। भारतले अतिक्रमण गरेको क्षेत्र ब्याँस गाउँपालिकामै पर्छ। यस अघि डा. केसी वैशाख २५ गतेदेखि बझाङ जिल्ला अस्पताल र वैशाख २९ गतेदेखि ३१ गते जिल्ला अस्पताल बैतडीमा रहेका थिए। त्यसअघि  डडेल्धुरामा अनसन बस्नुका साथै फागुन २० देखि वैशाख २५ गतेसम्म डडेल्धुरा अस्पतालमा  स्वास्थ्य सेवा दिएका थिए ।  





  • प्रकाशित मिति : जेठ १३, २०७७ मंगलबार ८:२९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया