काठमाडौं– अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले रुपन्देही र रुकुम पश्चिममा भएका हिंसाका घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।
जेठ १० गते रुपन्देही र रुकुममा भएका घटनामा संलग्न दोषीमाथि कारबाही गरी पीडित पक्षलाई न्याय दिलाउन एमनेस्टीले माग गरेको हो ।
रुपन्देहीमा कथित उपल्लो जातिका व्यक्तिबाट १२ वर्षीया बालिकालाई बलात्कार भएको घटना सार्वजनिक भएपछि जनप्रतिनिधिको संलग्नतामा उनको विवाह बलात्कारी पुरुषसँगै गराइएको र प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती बालिकाको बलात्कारपछि हत्या गरिएको र शव रुखमा झुन्ड्याइएको देखिएको एमनेस्टी इन्टरनेसनलले जनाएको छ ।
विज्ञप्तिमा पश्चिम रुकुममा भएको हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न पनि माग गरिएको छ ।
रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विकलगायत १८ जनाको समूहलाई उनका प्रेमिकाको परिवार तथा वडाअध्यक्षसहितका गाउँलेले लखेट्दै भेरी नदीसम्म पुर्याएको घटनामा नवराज लगायत पाँचजनाको ज्यान गएको छ भने एकजना अझै बेपत्ता छन् ।
दुवै घटनामा स्थानीय सरकारका प्रतिनिधि मुछिएका कारण यी घटनाहरूको स्वतन्त्र र प्रभावकारी अनुसन्धान हुनुपर्ने एमनेस्टीको ठहर छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।