वासिङ्टन– भारत–चीनबीचको सीमा विवादमा आफूले मध्यस्थता गर्ने प्रस्ताव गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो भनाइ पुनः दोहोर्याएका छन् ।
‘दुवै देशबीच १ अर्ब ४० करोडको जनसंख्या छ । दुवैसँग पर्याप्त सेना छन् । भारत र चीन सायद दुवै खुसी छैनन्,’ एक भारतीय पत्रकारको प्रश्नको जवाफका क्रममा उनले भारत र चीनबीच टकरावको स्थिति रहेको उल्लेख गर्दै ट्रम्पले भने, ‘चीनसँगको सम्बन्धका कारण प्रधानमन्त्री मोदीको ‘मुड’ ठीक नभएको पाएँ । यदि मोदीलाई मैले मद्दत गर्न सक्छु भन्ने लाग्छ भने म मध्यस्थता गर्न तयार छु ।’
यसअघि बुधबार पनि राष्ट्रपति ट्रम्पले ट्विट गर्दै सीमामा दुई देशबीच भइरहेको तनावमा आफू मध्यस्थता गर्न तयार रहेको बताएका थिए ।
चीनबाट ट्रम्पको प्रस्तावप्रति कुनै प्रतिक्रिया आएको छैन । चिनियाँ अखबारले भने दुवै देशलाई यस किसिमको सहयोगको खाँचो नभएको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले यसअघि भारत–पाकिस्तानबीचको सीमा समस्या समाधानका लागि मध्यस्थता गर्न आफू इच्छुक रहेको बताएका थिए । यसमा भारतले आपत्ति जनाएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।