नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय ६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा अब कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । यीमध्ये १ हजार ४ सय ५० जना पुरुष रहेका छन् भने १ सय १७ जना महिला रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलेखमा १८, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, रौतहटमा २९, सर्लाहीमा १० जना कोरोना संक्रमित थपिएका हुन् ।
यसका साथसाथै नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरसका कारण मृत्यु हुने दुई जना पनि थपिएका छन् । नेपालमा अब कोरोनका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
शनिबार राति दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना पोजेटिभ देखिएको थियो भने आइतबार बिहान बाजुरा जिल्ला अस्पतालमा ज्यान गुमाएकी दुई वर्षकी बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
डा. देवकोटाका अनुसार अहिलेसम्म नेपालमा २२० जनाले कोरोनाभाइरसलाई जितेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।