क्वारेन्टाइनबाटै काेराेना फैलिने डर

कोरोना संक्रमणको दर बढ्दै गएसँगै चुनौती पनि बढ्दै गएको छ।  भारतबाट आउने बेलादेखि जिल्लाभित्र निर्माण गरिएका क्वारेन्टिनमा समेत असुरक्षा बढेका कारण संक्रमणको दर एकाएक बढेको छ।  

आइतबार बिहानसम्म मात्र दैलेखमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ। एक जनाको क्वारेन्टिनमै मृत्यु भइसकेको छ।  चार नगरपालिका र सात गाउँपालिका रहेको दैलेखका अधिकांश विद्यालय अहिले भरिसकेका छन्। भारतबाट जिल्ला भित्रनेको संख्या सात हजार बढी पुगेपछि निर्माण गरिएका क्वारेन्टिन मापदण्डानुसारका नभएका र कोहलपुरबाट दैलेखसम्म आउने क्रममा अव्यवस्थित रूपमा यात्रा गरेका कारण एकले अर्कोमा सजिलै कोरोना संक्रमण फैलिएको अनुमान गर्दै उच्च सुरक्षा अपनाउन थालिएको छ।

अहिलेसम्म संक्रमित  ४७ जना सबै व्यक्ति भारतबाटै आएको र जिल्लाका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टिनमा बसेका मात्र रहेकाले संक्रमण क्वारेन्टिनभित्रै फैलिन सक्ने भन्दै व्यवस्थित बनाउन बारम्बार सबैलाई आग्रह गरिएको नेपाल मानव अधिकार सङ्गठन दैलेखका अध्यक्ष दीर्घराज अधिकारीले बताए।  कोहलपुरदेखि अनियन्त्रित रूपमा मानिस कोचाकोच गरेर गाडीमा ल्याउनु, क्वारेन्टिनभित्र बस्नेमा आचरण नहुनु, हुल बाँधेर बस्नु सङ्क्रमण फैलनुको   कारण बताइएको छ।  त्यस्तै प्रदेश सरकारले सुर्खेततिरै जाँच गरेर पठाउन नसक्नु, जिल्ला आएपछि पनि स्थानीय सरकारले आफ्ना नागरिक कति जना विदेश गएका छन् भन्ने तथ्याङ्क राख्न नसक्नु र सोहीअनुसार व्यवस्थापन नगर्नुले अहिले क्वारेन्टिन कोरोना उत्पादन केन्द्र बन्न सक्ने सम्भावना बढेको अधिकारीले गुनासो गरे।

नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले  प्रदेश सरकारले धमाधम मानिस गाउँमा पठाउने काम गर्नुभन्दा व्यवस्थित गर्नुपर्नेमा त्यसो नगरी गल्ती गरेका कारण कोरोना गाउँगाउँमा पुगेको र अहिले समस्या उत्पन्न भएको बताए। तत्कालै क्वारेन्टिनमा बसेकाहरुलाई आरडिटी र स्वाब संकलनको रिपोर्टका आधारमा सुरक्षित रूपमा होम क्वारेन्टिनमा पठाउनुपर्ने र घरमै सुरक्षित वातावरण तयार गर्नुपर्ने जिल्लावासीको सुझाव छ।





  • प्रकाशित मिति : जेठ १९, २०७७ साेमबार १०:३८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया