विराटनगर– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराएका थप १८ जना सोमबार राति कोरोना जितेर घर फर्केका छन् । यसरी कोरोना जितेर फर्कनेमा झापाका १७ जना पुरुष र सुनसरीकी एक महिला छन् ।
डिस्चार्ज हुनेहरु १७ देखि ५२ वर्ष उमेर समूहका रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । डा. सापकोटाका अनुसार दुईपटक गरिएको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि १८ जनालाई सोमबार डिस्चार्ज गरिएको हो ।
कोरोना जितेर डिस्चार्ज हुनेहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका निर्देशक गौरीशंकर साह, सहायक निर्देशक डा. विकास साहलगायतले पुष्पगुच्छा दिएर बिदाइ गरेका थिए ।
प्रदेश १ मा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा कोरोनाबाट मुक्त हुनेहरुको संख्या ४८ पुगेको छ । यसअघि कोशी अस्पताल विराटनगरको कोभिड १९ उपचार केन्द्रबाट ३० जना डिस्चार्ज भएका थिए ।
प्रदेश १ को बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ८० जना र विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ३९ जना उपचाररत छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।