लकडाउन खुकुलाे बनाउने तयारी

लकडाउन खुकुलो बनाउने जिम्मा कोभिड–१९ (कोरोना) भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले पाएको छ। लकडाउनलाई असार १ देखि खुकुलो पार्नेगरी खाका तयार गर्ने र त्यसैअनुसार निर्णय गर्ने जिम्मेवारी बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले समितिलाई दिएको हो।

‘अहिले नै खुकुलो पार्नेभन्दा पनि सम्पूर्ण खाका तयार पार्ने र ८० दिनपछि सबै क्षेत्र खुकुलो पार्नेगरी खाका तयार पार्न समितिलाई निर्देशन दिइएको छ,’ बैठक स्रोतले भन्यो।  

मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो पार्ने मोडालिटी दुई दिनभित्र पेस गर्न समितिलाई निर्देशन दिएको छ। लकडाउन बढ्दै गएपछि काठमाडांै उपत्याकाभित्र र बाहिरका व्यवसायीले अवज्ञा गर्न थालेपछि मन्त्रिपरिषद बैठकमा छलफल भएको थियो। चैत ११ गतेदेखि देशभर लागू लकडाउन पटकपटक म्याद थप्दै पछिल्लो समय यही जेठ ३२ गतेसम्म लम्ब्याइएको छ।  आजकाे नागरिक दैनिकमा समाचार छ ।

लकडाउनको मोडालिटी परिवर्तनबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ विज्ञहरूसँग पाँच घन्टा छलफल गरेका थिए। त्यसक्रममा स्वास्थ्यविद्, अर्थविद्, योजनाविद् लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए। लकडाउन खुकुलो बनाउने विषयमा प्रधानमन्त्री सकारात्मक देखिए पनि उच्चस्तरीय समितिले स्पष्ट खाका ल्याउन नसक्दा बिहीबारको बैठकले कुनै निर्णय गर्न नसकेको हो। बैठकमा लकडाउनबारे विस्तृत छलफल भएको थियो। उच्चस्तरीय समितिले प्रारम्भिक रूपमा मस्यौदा गर्दै गरेको मोडालिटीलाई एकदुई दिनभित्रै थप छलफल गरेर मन्त्रिपरिषद्मा पेस गरेपछि मात्र निर्णय गर्ने गरी बैठक सकिएको थियो।

उच्चस्तरीय समन्वय समितिअन्तर्गत रहेको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिएमसी) ले असार १ देखि लकडाउन खुकुलो बनाउँदै जानेगरी अगाडि बढ्ने विस्तृत स्वरूपको मस्यौदा तयार पारेको छ। बैठकले स्वास्थ्य संकटकालबारे कुनै निर्णय गरेन। अहिले त्यसको आवश्यकता नभएको भन्दै मन्त्रिपरिषद् बैठकले त्यसबारे पछि छलफल गर्ने जनाएको थियो।  

यसैगरी बैठकले रोल्पामा भएको वम विस्फोटबाट मृत्यु भएका चार बालबालिकाका परिवारलाई पाँच लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने निर्णय गरेको छ। गत वैशाख १८ गते रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा भएको वम विस्फोटमा परी स्थानीय लालबहादुर केसीका ११ वर्षीया छोरी विमला केसी र पाँच वर्षीय छोरा विजय केसी तथा ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम डाँगी र लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरव नेपालीको मृत्यु भएको थियो।  



बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव विष्णु नेपाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। त्यस्तै सामाजिक सुरक्षा ऐन संशोधन गर्दै सामाजिक सुरक्षा भत्ता वितरणलाई यथावत् राखी कार्यान्वयन गर्ने पनि निर्णय भएको छ। कलाकार दयाराम दाहाललाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्ति दिइएको छ। बैठकले महोत्तरीमा विषालुका रक्सी खाएर मृत्यु भएकाका परिवारका बालबालिकालाई सरकारले निःशुल्क शिक्षा दिने निर्णय पनि गरेको छ।



  • प्रकाशित मिति : जेठ २३, २०७७ शुक्रबार ८:५६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया