कोरोनाभाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनको अबको मोडालिटी के हुने भन्ने विषयमा सरकार नै अलमलमा परेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार अबेर रातिसम्म बसेको बैठकमा पनि यसबारे टुङ्गो लाग्न सकेन । योसँगै विनानिष्कर्ष बैठक टुङ्गिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा नै बसेको यो बैठकमा अबको मोडालिटी के गर्ने भन्ने विषयमा कुनै निष्कर्ष निस्कन सकेन । पछिल्लो समय दैनिक कोभिड १९ को संक्रमण बढिरहेको र मृत्यु हुनेको संख्या बढिरहेकाले छलफलमा सहमति जुट्न नसकेको हो ।
बैठकमा सहभागी एक मन्त्रीले फरकधारसँग आइतबार अबेर राति भने, ‘मोडालिटी बनाएर अगाडि बढ्ने कुरामा चाहिँ सहमति छ तर कसरी अगाडि बढ्ने भन्ने विषयमा टुङ्गो नलागेको हो । पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढिरहेकोले पनि यसबारे थप छलफल गर्न जरुरी देखिएको हो ।’
यसबारे पुनः कोभिड १९ रोकथाम उच्चस्तरीय समन्वय समितिमा छलफल हुने पनि बताइएको छ । त्यसपछि सरकारले मंगलबार यसबारे रणनीति सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ ।
विभिन्न मुलुकले यसअघि देशमा कोरोना संक्रमणको दर घट्दै गएपछि लकडाउन चरणबद्ध रुपमा खुकुलो बनाउँदै लगेका छन् । तर, भारतमा लकडाउन खुकुलो बनाएपछि कोरोना महामारीको अवस्था थप संकटग्रस्त हुँदै गएको छ । अन्य देशमा पनि लकडाउनलाई बेवास्ता गर्दा यस्तो समस्या देखिएको छ ।
यही कारणले पनि सरकारले अहिले तत्काल लकडाउन खुकुलो बनाउने मोडालिटीमा निष्कर्षमा पुग्न नसकेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।