काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले डा. बाबुराम भट्टराईको प्रशंसा गरेका छन् । जनता समाजवादी पार्टीमा भट्टराईको वरीयताका विषयमा राजनीतिक वृत्तमा नकारात्मक टिप्पणी आइरहेका वेला थापाले भने भट्टराईको प्रशंसा गरेका हुन् ।
सोमबार बिहान ट्विट गर्दै थापाले भट्टराईको राजनीतिक उचाइ निर्वाचन आयोगमा पेस भएको कागजले नगर्ने बताएका छन् । थापाले ट्विटमा लेखेका छन्, ‘वरीयताको विषयमा बाबुराम भट्टराईलाई केहीले खिसी गरेको पढेँ, ‘बाबुरामजीसँग धेरै विषयमा मेरो मतभेद छ। तर, उहाँको वरीयता र राजनीतिक उचाइ निर्वाचन आयोगमा पेस भएको कागजले गर्दैन ।’
आइतबार निर्वाचन आयोगमा दर्ता गर्न तयारी चल्दै गर्दा सुरुमा बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्षमा सहमति भए पनि अन्तिम समयमा ‘टिपेक्स’ले मेटेर उनको वरीयता चौथो कायम गरी बरिष्ठ नेतामा सीमित गरिएको थियो ।
सो विषयमा राप्रपा अध्यक्ष थापाले लामो राजनीतिक यात्रा–संघर्षले समाजमा बाबुरामको स्थान कायम भइसकेको धारणा राखेका हुन् । एकता गर्दा नाम तल राख्न मानेर बरु भट्टराईको उचाई अझै बढेको थापाको टिप्पणी छ ।
वरियताको विषयमा @brb1954 लाई केहीले खिसी गरेको पढें।बाबुरामजीसंग धेरै विषयमा मेरो मतभेद छ।तर,उहाॅको वरियता/राजनीतिक उचाई नि.आयोगमा पेशभएको कागजले गर्दैन।लामो राजनीतिक यात्रा/संघर्षले समाजमा उहाॅको स्थान कायम भैसकेको छ।एकतागर्दा नाम तल राख्न मानेर बरु उहांको उचाई अझै बढेको देखिन्छ
— Kamal Thapa (@KTnepal) June 8, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।