कोरोनाभाइरससँग लडिरहेको नेपालका लागि सोमबार अर्को एउटा निकै दुखद खबर आयो । खबर पश्चिम नेपालको अछामको हो ।
केही दिनअघि जातीय विभेदका कारण रुकुममा छ युवा मारिएको घटनाले नेपालीको मन सिरिङ्ग बनाइरहँदा आएको अछामको यो समाचारले सबैलाई अचम्ममा पारेको छ ।
किनकि पश्चिमी जिल्ला अछामको साफेबगर नगरपालिका ६ का २७ वर्षीय सिद्धार्थ आउजीले सोमबार विहान आफ्नो शरीरमा आफैं पेट्रोल छर्किए, आफैं आगो लगाए ।
कोरोना कहरका कारण आफ्नो जीवन नै सकाउने निर्णय गरेका आउजी खासमा त्यहाँको बयलपाटामा रहेको अस्पतालका सरसफाइका कर्मचारी हुन् । उनले अस्पताल अगाडि नै आफ््नो शरीरमा आगो लगाएका थिए ।
सोमबार उनी खासमा आगो लगाउँछु भन्ने सोचले अस्पताल पुगेका थिएनन् । उनी त काम गर्न पुगेका थिए । काम गर्न गएका आउजीले जब थाहा पाए, आफूलाई अस्पताल प्रशासनले जागिरबाट निकालिसकेको छ, उनले गरेको निर्णय थियो– आत्मदाह !
‘अस्पतालमा काम गर्न आएको थियो, अस्पताल प्रशासनले उसलाई हटाइसकेको भन्दै काम नगर्न भन्यो,’ अस्पतालका अर्का कर्मचारी विशाल पण्डितले भनेका छन्, ‘त्यसपछि उसले पेट्रोल छर्कियो र आफ्नो शरीरमा आगो लगायो ।’
अस्पताल अगाडि नै ह्वारह्वार्ती आउजीको शरीरमा आगो बल्न थाल्यो । नजिक रहेका मानिसहरु हस्याङफस्याङ गर्न थाले । केहीले उनको शरीरमा रहेको आगो निभाउने प्रयास पनि गरे । तर, जतिबेला उनको शरीरमा बलेको आगो निभ्यो, त्यति बेला उनको शरीरको अधिकांश भाग जलिसकेको थियो ।
अस्पतालले खासमा आउजीलाई मात्र कामबाट निकालेको थिएन, उनीसँगै काम गर्ने अन्य ३४ कर्मचारीलाई पनि निकालेको थियो । तर, आउजीले जब यो कुरा थाहा पाए, मनको पीडालाई थाँती राख्न सकेनन् । उनी तत्काल निर्णयमा पुगे र शरीरमा आगो लगाए ।
आउजीको शरीरको आगो निभाएपछि उनलाई अस्पतालमा उपचार गर्ने कोसिस नगरिएको होइन । तर, उनको शरीरको अधिकांश भाग जलिसकेको थियो । अस्पतालमा उनको उपचार सम्भव भएन ।
संयोग मान्नुपर्छ, त्यही बेला त्यहाँ एक गर्भवती महिलालाई लिन हेलिकोप्टर पुगेको थियो । त्यही हेलिकोप्टरमा राखेर आउजीलाई कोहलपुर मेडिकल कलेज लगियो । तर, त्यहाँ चिकित्सहरुले उनको ज्यान बचाउन सकेनन् । उनको निधन भयो ।
कुनै लामो योजना बनाएर सिद्धार्थले आत्मदाह गरेका होइनन् ।
कोरोना संकटका कारण लागेको लकडाउन, अस्पतालबाट आफूलाई निकालिएको खबर पाएपछि एक्कासी आउजी निसास्एिका थिए । श्रीमती र दुई छोराछोरीलाई पाल्ने जागिर गुमाउँदा सायद आउजीले भविष्य अन्धकार देखेका थिए । त्यसैले हुनुपर्छ, उनकी श्रीमती गौरी आउजीले भनेकी छिन्– केही दिनदेखि उनको बानीमा परिवर्तन आएको थियो, केही बोल्दैनथे ।
सोमबार विहान पनि उनले खाना खाएपछि घरमा केही भनेनन्, काममा निस्किए । साँझ सिद्धार्थ आएपछि फेरि खाना खाने योजना बनाएकी गौरीले दिउँसो जब यो खबर सुनिन्, उनले पत्याउनै सकिनन् । साँझ आउजीको निधन भएको समाचार आयो ।
यसले गौरीलाई मात्र होइन, सिद्धार्थका साथी विशाललाई मात्र होइन, अस्पतालमा उनीसँगै काम गर्ने सबैलाई स्तब्ध बनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।