नेपालमा अब कोरोनाभाइरस संक्रमितको संख्या ४ हजार नाघेको छ । दैनिक रफ्तारमा बढिरहेको कोरोनाभाइरस संक्रमणका कारण नेपालमा १५ जनाले ज्यान गुमाइसकेका छन् ।
कूल ४०८५ संक्रमित रहेको नेपालमा ५ सय ८४ जनाले कोरोनाभाइरस संक्रमणलाई जितेका छन् । प्रतिशतमा हिसाब गर्ने हो भने यो १४ प्रतिशत हुन आउँछ ।
नेपालमा मंगलबार इलाममा कोरोनाभाइरस संक्रमित भेटिएसँगै अब ७२ जिल्लामा कोरोनाभाइरस संक्रमित भेटिएका छन् । त्यसो त गण्डकी प्रदेशको लमजुङमा पनि त्यहाँ नै बस्ने संक्रमित अहिलेसम्म भेटिएका छैनन् । यसअघि लमजुङका भनिएका संक्रमित काठमाडौंमा रहेको पाइएको थियो ।
तर, अहिलेसम्म पाँच जिल्लामा चाहिँ एक जना पनि संक्रमित भेटिएका छैनन् । यो सूचीमा गण्डकी प्रदेशका दुई जिल्ला छन्– मनाङ र मुस्ताङ ।
त्यस्तै, रुकुम पश्चिममा पनि अहिलेसम्म एक जना पनि कोरोनाभाइरस संक्रमित भेटिएका छैनन् । ओखलढुङ्गा र रसुवा दुवै जिल्लामा पनि अहिलेसम्म कोरोनाभाइरस संक्रमित भेटिएका छैनन् ।
नेपालमा कोरोनाका कारण अहिलेसम्म सबैभन्दा प्रभावित जिल्ला चाहिँ कपिलवस्तु बनेको छ । कपिलवस्तुमा अहिलेसम्म ५ सय ८७ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । यीमध्ये १० जनाले त्यहाँ कोरोना जितेका पनि छन् ।
यो सूचीको दोस्रो नम्बरमा रौतहट आउँछ । रौतहटमा अहिलेसम्म ४ सय २६ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । रौतहटमा चाहिँ ३ जनाले कोरोनाभाइरस संक्रमण जितेका छन् ।
त्यस्तै, सर्लाहीमा ३ सय ८९ जना संक्रमित भेटिएका छन् । त्यहाँ अहिलेसम्म कसैले पनि कोरोना जितेका छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।