कोरोनाभाइरसका कारण हुने मृत्युको संख्यामा अब ब्राजिल बेलायतभन्दा अगाडि बढेको छ । जोन्स हप्किङ्स विश्वविद्यालयका अनुसार अमेरिका पछि अब सबैभन्दा धेरै जनाको कोरोनाका कारण ब्राजिलमा निधन भएको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला २४ घन्टामा त्यहाँ झन्डै ९ सय ९ जनाको मृत्यु कोभिड १९ का कारण भएको छ । योसँगै अब ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४१ हजार ८ सय २८ पुगेको छ । बेलायतमा चाहिँ अहिलेसम्म कोरोनाका कारण ४१ हजार ५ सय ६६ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा कोरोना संक्रमित पनि अमेरिकापछि सबैभन्दा धेरै रहेका छन् । त्यहाँ पछिल्लो २४ घन्टामा मात्र २५ हजार ९ सय ८२ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । योसँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या ८ लाख २८ हजार ८ सय १० पुगेको छ ।
अहिले पनि ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारोले कोरोनाभाइरस महामारीलाई गम्भीर भएर नलिएको भन्दै ब्राजिलमा उनको आलोचना बढिरहेको छ । ब्राजिलमा उनले कोरोना सामान्य फ्लू भएको भन्दै लकडाउन नगर्ने समेत निर्णय गरेका थिए ।
कतिसम्म भने स्थानीय सरकारले लगाएका लकडाउनको विरोधमा उनले प्रदर्शनकारीलाई साथ पनि दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।