बाजुरामा लकडाउनको मौका छोपी बढ्यो वन्यजन्तुको तस्करी

बाजुरामा लकडाउनको मौका छोपेर वन्यजन्तुको चोरी तस्करी बढेको छ । जिल्लाको बडीमालिकाको मार्तडी क्षेत्र, गौमूला गाउँपालिकाको दहकोट, मानाकोट, त्रिवेणी नगरपालिकाको तोली, छतारा, कैलाशमाडौं, खप्तड छेडेदहको काँडा, जयबागेश्वरी, डोगडी, हिमालीको रुगिनलगायतका दर्जनौँ गाउँमा वन्यजन्तुको चोरी तस्करी बढेको छ ।
 
जिल्लाका धेरैजसो जङ्गल क्षेत्रतिरका गाउँका स्थानीय सिकार खेल्न बन्दुक, भाला, खुकुरी लिएर जङ्गल जाने गरको स्थानीय स्तरबाटै गुनासो आउन थालको छ । यही जेठ २७ गतेमात्र त्रिवेणी नगरपालिकाको मौरेमा एक मृगलाई गाउँलेले घेरा हालेर मारेका थिए । मृगलाई कसले मारेको हो, को को संलग्न थिए, उनीहरुको खोजी कार्य भइरहेको डिभिजन वन कार्यालय बाजुराका प्रमुख भीमप्रसाद कँडेलले बताए ।


अहिले जिल्लाका विभिन्न ठाउँका जङ्गलमा खुलेआम चोरी–सिकारी भइरहेको हिमाली गाउँपालिका–३ बौडीका स्थानीयवासी धनमल विकले बताए । उनले जङ्गलमा गएर दुर्लभ तथा नेपालको राष्ट्रिय जनावर डाँफे, कालिज, बँदेल, कस्तुरीमृग, घोरललगायतको सिकार हुने गरेको जानकारी दिए ।


सिकार खेल्न स्थानीयवासीको समूह एक–दुई हप्तासम्म जङ्गलमा नै बस्ने गर्छन् । जङ्गलमा गएर भरुवा बन्दुकको प्रयोग तथा अन्य पासोको समेत प्रयोग गरेर जनावर मार्ने गरेको बताइएको छ । कसैले त कुकुरहरु प्रयोग गरेर मृगको सिकार गर्ने गरेका छन् ।


जिल्लाका घनाजङ्गल भएका ठाउँ बडिमालिका, बूढीनन्दा र खप्तड राष्ट्रिय निकुञ्ज नजीक बढी चोरी सिकारी हुने गरेको पाइएको छ । वन्यजन्तुको सिकार गरी जिल्लाका विभिन्न स्थानीय हाटबजार र गाउँमा समेत बिक्री गर्ने गरेको पाइएको डिभिजन वन कार्यालयले अनुसन्धान गरिरहेको बताएको छ ।

सदरमुकाम मार्तडीमा समेत डाँफे र मुनालको प्रतिकेजी एक हजार पाँच सयदेखि दुई हजार तथा कालिज एक हजारभन्दा बढी मूल्यमा बिक्री हुने गरेको छ ।

त्यस्तै बँदेल, घोरलको प्रतिकेजी पाँच सयमा कस्तुरी मृगको मासु प्रतिकेजी एक हजारमा बिक्री हुने गरेको मार्तडीमा मृगको मासु बेच्दै एकजना सिकारीले बताएका छन् । चिसोयाममा जङ्गली वन्यजन्तुको मासुको मूल्य बढी पाउने गरेको बताइन्छ ।



जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले भने चोरी सिकारी बढ्ने सम्भावना भएकाले सबै ठाउँमा रहेका प्रहरीलाई जानकारी गरिसकेको र जङ्गलतिर पनि ‘सर्च अभियान’ गरिरहेको बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित पक्षी तथा वन्यजन्तुको सिकार गर्नेलाई पाँचदेखि १५ वर्षसम्म कैद र नगद रु ५० हजारदेखि रु एक लाखसम्म जरिवाना हुने प्रावधान रहेको छ ।
 



  • प्रकाशित मिति : असार १, २०७७ साेमबार ९:२७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया