प्रधानमन्त्री ओलीकाे अलमलले एमसिसी अन्याेलमा

अमेरिकी आर्थिक सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र नेपाल सरकारबीच भएको सम्झौता अनुसार अब एमसिसीका परियोजना कार्यान्वयनमा जानका लागि १५ दिनमात्र बाँकी रहेका छन् । 

तर, अहिलेसम्म एमसिसीको भविष्य के भन्ने टुङ्गो लागेको छैन । संसदबाट अनुमोदन हुन नसक्दा यो सम्झौता नेपालमा के हुन्छ भन्ने अनुमान गर्न गाह्रो पर्न थालेको छ । १६ गतेभित्र अनुमोदन भएर कार्यान्वयन हुन नसके एमसिसी नेपालमा नआउने सम्भावना बढ्दै जान्छ ।

तर, एमसिसीबारे के गर्ने भन्ने विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रै मतभेद अझै बाँकी रहेको छ । यस विषयमा आइतबार सचिवालय बैठक बस्ने भनिए पनि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयमा बैठकलाई स्थगित गरिदिएका छन् । उनी आराम गर्नु पर्ने भएकाले यो बैठक स्थगित गरिएको भनिएको छ । तर, नेकपा सचिवालय बैठकमा एमसिसीबारे छलफल हुने भनिएको र बैठक स्थगित भएको यो पहिलो पटक होइन । यसअघि पनि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकलाई अन्तिम समयमा स्थगन गरेका थिए । 

आखिर किन प्रधानमन्त्री केपी शर्मा ओली बारम्बार यस विषयमा छलफल गर्ने बैठक स्थगित गरिरहेका छन् ?

‘किनकि यो मुद्दामा उहाँ अहिले अल्पमतमा हुनुहुन्छ,’ नेकपा सचिवालयकै एक सदस्यले फरकधारसँग भने, ‘उहाँ सायद नेताहरुसँग पहिले वान टु वान कुराकानी गर्न चाहनुहुन्छ अनि बल्ल यसलाई अगाडि बढाउने मनासयमा हुनुहुन्छ ।’

त्यसो त आइतबार सचिवालय सदस्यहरु बालुवाटार गएर यस विषयमा छलफल गर्न तयार थिए । तर, यस विषयमा प्रधानमन्त्री ओलीलाई एमसिसीका लागि नेकपाले बनाएको अध्ययन कार्यदलका दुई सदस्य झलनाथ खनाल र भीम रावलले समर्थन गर्ने छाँटकाँट देखिएन । अनि खनालकै पक्षमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि कडा रुपमा प्रस्तुत हुनसक्ने अनुमान ओलीको थियो । 



‘प्रचण्ड, खनाल, नारायणकाजी, रामबहादुर थापा बादल र वामदेव गौतम स्पष्ट रुपमा एमसिसीको विरोधमा हुनुहुन्छ, उहाँहरु एमसिसीमा कुनै परिवर्तन नगरि कार्यान्वयन गर्न नहुने पक्षमा हुनुहुन्छ,’ नेकपाका एक केन्द्रीय सदस्यले फरकधारसँग भने, ‘यही कारण अब ओली कमरेडलाई के गर्ने भन्ने समस्या परेको हुनसक्छ ।’

यसअघि बारम्बार प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसीको विषयमा अब संसदले नै निर्णय गर्ने बताउँदै आएका छन् । उनले यस्तो बताउँदै आए पनि नेकपामा नै एमसिसी के गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । त्यसैले संसदको यो अधिवेशनमा नै एमसिसी अनुमोदन गर्ने कुरा अनिश्चित भएको छ । त्यसो त सम्झौता अनुसार एमसिसी नेपालको संसदबाट १३ असोजअगाडि नै अनुमोदन हुन पर्ने थियो । तर, यसो नहुँदा अहिले अमेरिकाबाट आउनु पर्ने सहयोग रकम आउन छोडेको छ ।



यता, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली यस विषयमा अलमलमा परेका छन् । यसअघि नेकपा केन्द्रीय कमिटीको बैठकमा अधिकांश सदस्यले एमसिसी अहिलेको अवस्थामा नै पारित गर्न नहुने आवाज उठाएपछि नेकपाले यसबारे अध्ययन गर्न झलनाथ खनालको नेतृत्वमा प्रदीप ज्ञवाली र भीम रावल सदस्य रहने गरि अध्ययन समिति बनायो । यो अध्ययन समितिले पनि एमसिसीमा केही परिमार्जन गर्नु पर्ने पार्टीलाई सुझाव दिएको छ । 

तर, प्रधानमन्त्री ओली यसलाई यथास्थितिमा नै अनुमोदन गर्न चाहन्छन् । उनलाई एमसिसी पारित गर्नका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको साथ छ । तर, पार्टीभित्र नै उनी अल्पमतमा परेका छन् । उनको यही अलमलका कारण अब एमसिसी के हुने भन्ने अन्योलमा परेको छ ।

  • प्रकाशित मिति : असार १, २०७७ साेमबार ९:५३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया