उत्ताउलो कूटनीतिले काम बिगार्छ
दीपकुमार उपाध्याय
फरकधार / २ असार, २०७७

दीपकुमार उपाध्याय

नेपालले हालै कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा जारी गरी संविधानसमेत संशोधन गरेपछि हामी नेपाल र भारतबीचको सम्बन्धमा ‘करेक्सन मोड’ मा पुगेका छौँ । ऐतिहासिक प्रमाण हाम्रै पक्षमा हुँदा पनि लामो समयसम्म आफ्नो भूभागको कुनै खैखबर नगर्नु हाम्रै कमजोरी हो । हामी आन्तरिक रूपमा विभिन्न मुद्दामा फरक फरक विन्दुमा उभिए पनि राष्ट्रियताको सवालमा भने पटकपटक एउटै विन्दुमा उभिँदै आएका छौँ । यसपटक नयाँ नक्सा जारी गरी पारित गर्ने सवालमा पनि हामी अभूतपूर्व रूपमा एकै ठाउँमा डटेर उभिएका छौँ ।

 

अग्निपरीक्षाको घडी

विगतमा हाम्रा राजनीतिक दलहरू एकआपसमा लड्दै, भिड्दै, विरोध गर्दै, सरकार फेर्दै, राजनीतिक अस्थिरता बढाउँदै रमाइरहे । तर, अहिले हाम्रो भौगोलिक अखण्डताका पक्षमा जुन एकता देखियो, त्यो ‘न भूतो न भविष्यति’ भनेजस्तै देखिएको छ । नयाँ संविधान निर्माणसँगै अब समृद्धिको बाटोमा जानुपर्छ भनेर हामी सबै धेरै हदसम्म संयमित हुँदै आएका छौँ । यस क्रममा नयाँ नक्साको सन्दर्भमा देखिएको एकता त अभूतपूर्व नै छ । यसलाई अब हामीले कुनै हालतमा पनि खलबलिन दिनु हुँदैन । यो सत्ताबाहिर रहेका राजनीतिक दलसँगै सरकारको पनि अग्निपरीक्षाको घडी हो । 

 

शान्त र मर्यादित कूटनीति

नक्सा जारी गरी पारित गर्ने सन्दर्भमा हामीबीच देखिएको एकता हाम्रो अमूल्य पुँजी हो । नक्सा बनाएर संविधान संशोधन गर्दैमा भूमि हामीमातहत आइसकेको छैन । त्यसैले, अबका दिनमा नयाँ नक्सालाई स्वीकार्य बनाउने दिशामा सरकारले परिपक्वता प्रदर्शन गर्दै अघि बढ्नुपर्छ । हामीले भारतसामु परिपक्व कूटनीति अवलम्बन गर्नुपर्छ । परिपक्व कूटनीति भनेको शान्त हुन्छ, मर्यादित हुन्छ, उत्ताउलो हुँदैन । यस्तै शान्त र मर्यादित कूटनीतिबाट मात्र सकारात्मक परिणाम निस्कन्छ ।

कूटनीतिमा परिपक्वता भएन भने त्यसले ‘बुमर्‍याङ’ गर्छ । यस्तो स्थिति आउनु भनेको नेपाल र भारत दुवै देशको कूटनीतिक विफलता हो । किनकि, ताली एक हातले मात्र बज्दैन । यस्तो असफलताबाट न उनीहरूले कुनै जस पाउँछन्, न त हामीले नै । त्यसैले दुवै देशले अपजसको भारी बोक्नुपर्ने परिस्थिति सिर्जना गर्नु हुँदैन । परिस्थितिको गम्भीरता दुवै राष्ट्रले मनन गर्न सक्नुपर्छ । यसका लागि राजनीतिक नेतृत्व तहबाटै दरिलो इच्छाशक्ति देखाएर समाधानको बाटो पहिल्याउन सक्नुपर्छ । 

 

उत्ताउलो कूटनीतिले काम बिगार्छ

दुई देशबीचको कूटनीतिक सम्बन्धका विषयमा आमजनता या अन्य कुनै नेताले जेजे बोले पनि त्यसको ठूलो अर्थ हुँदैन । तर, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीले यस विषयमा अत्यन्त मर्यादित भाषा प्रयोग गर्न सक्नुपर्छ । कूटनीतिमा, प्रत्येक शब्द र वाक्यले मात्र नभई व्यक्तिको हाउभाउ, इसारा, बोलीको आरोह, अवरोहले समेत अर्थ राख्छ । त्यसैले, यस्तो गम्भीर विषयमा हाम्रो नेतृत्वले विचार पुर्‍याउनुपर्छ । तर, पछिल्लो समयमा प्रधानमन्त्रीबाट आएका केही अभिव्यक्ति शान्त कूटनीतिविपरीत छन् । त्यस्ता अभिव्यक्तिले बन्नसक्ने काम पनि बिगार्न सक्छन् । 

कूटनीतिमा, प्रत्येक शब्द र वाक्यले मात्र नभई व्यक्तिको हाउभाउ, इसारा, बोलीको आरोह, अवरोहले समेत अर्थ राख्नेमा हाम्रो नेतृत्वले विचार पुर्‍याउनुपर्छ । पछिल्लो समयमा प्रधानमन्त्रीबाट आएका केही अभिव्यक्ति शान्त कूटनीतिविपरीत छन् । त्यस्ता अभिव्यक्तिले बन्ने काम पनि बिगार्न सक्छन् । 

राजनीतिज्ञको विषय होइन कूटनीति

कूटनीति राजनीति गर्ने मान्छेको विषय नै होइन । यो कूटनीतिज्ञकै विषय हो । यसैले विगतमा कूटनीतिक सेवाबाट निवृत्त भएका या वर्तमानमा सेवामै रहेका कूटनीतिक व्यक्तिहरूलाई साथमा लिएर नेतृत्वले काम गर्न सक्नुपर्छ । किनकि, प्रधानमन्त्रीज्यूले पछिल्ला केही दिनयता संसद्मा बोलेका कतिपय विषय कूटनीतिक मर्यादाका दृष्टिले शान्त नभई उत्ताउलो अभिव्यक्ति ठहरिन सक्छन् ।

कुनै पनि मान्छे आफैँमा सर्वज्ञ हुँदैन । उसले सबै विषय जानेको हुँदैन । डाक्टर पनि मै हुँ, कूटनीतिज्ञ पनि म नै हुँ, सीमाविज्ञ पनि मै हुँ भन्न थालियो भने यसले राम्रो परिणाम दिँदैन । 

 

इतिहासले बनाएको सम्बन्ध

नेपाल र भारतबीचको सम्बन्ध यहाँका राजनीतिक दल, नेता, ब्युरोक्रेसी, सरकार या प्रधानमन्त्री कसैले बनाएर बनेको होइन । कसैले बनाएको भए यी दुई देशबीचको सम्बन्ध बिग्रन्थ्यो होला । तर, यो सम्बन्ध त वैदिक सनातन धर्म, संस्कृति र इतिहासले बनाएको हो । दुवै देशका जनताको मनमा गढेको आध्यात्मिकताले जोडेको सम्बन्ध हो । यस्तो गहिरो सम्बन्ध भएका दुई मुलुकबीच अहिले भाजपाको सरकार भएको समयमा थप बिग्रिन्छ भने यसमा हाम्रा पनि केही कमी कमजोरी होलान् कि भनेर आत्मसमीक्षा गर्नु जरुरी छ । यतिखेर दुई देशबीचको सम्बन्ध यथावत् मजबुत राख्नु दुवै देशको बाध्यता छ ।

छिमेकी फेर्न सकिन्न, भूगोल बदल्न सकिन्न । यतिखेर देशबीचको सम्बन्ध बिग्रनु भारतको पनि हितमा छैन । दुई देशबीचको कूटनीतिक सफलता या विफलतामा यसको जस, अपजस जे भने पनि बढी भारतकै थाप्लामा जान्छ । किनकि, भारत संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को सदस्य बन्ने बाटोमा रहेको र विश्वको एउटा उदाउँदो आर्थिक शक्तिका रूपमा चिनिँदै गरेको देशले नेपालसँगको परापूर्व कालदेखिको हुँदाखाँदाको सम्बन्ध बिग्रन दियो भने यसमा सबैभन्दा बढी अर्घेल्याइँ भारतकै देखिनेछ । दुई देशबीच अहिलेसम्म संवाद सुरु भइसकेको भए तनाव बढ्न पाउने थिएन । हामीलाई भन्दा बढी तनाव उनीहरूलाई नै थियो । तर, उनीहरूले पनि परिस्थितिको गम्भीरतालाई मनन गर्न सकेको देखिएन । 

 

कूटनीतिमा न्यानोपनको अभाव

नेपाल र भारतबीचको पछिल्लो कूटनीतिमा हुनुपर्ने न्यानोपनको अभाव देखिन्छ । यसमा सुधार ल्याउन दुवै पक्षले सकारात्मक पहल गर्नुपर्छ । दुवै पक्षबाट कहीँकतै कमी कमजोरी भएका छन् भने आआफ्नो तहबाट सुधार गर्न सक्नुपर्छ । भारतीय प्रधानमन्त्री मोदीजीले आफैँले नेपालसितको सम्बन्धलाई विशेष महत्व दिएर हेर्ने गर्नुभएको छ । भारतीय प्रशासनयन्त्रको नेपाल नीति नरम होइन, कडै छ ।

उनीहरू नेपाललाई जसरी पनि कमजोर बनाउने, थकाउने, गलाउने रणनीतिमै देखिन्छन् । त्यसैले, मोदीजी स्वयंले कर्मचारीतन्त्रको मात्र भर नपरी सम्बन्ध सुधारको इच्छाशक्ति देखाउनुपर्छ । विगतमा उहाँले केही सुधारको प्रयास पनि गर्नुभएको हो । राजनीतिक तहबाट सकारात्मक पहलको सुरुवातको श्रेय उहाँलाई नै जान्छ । यस पक्षलाई हामीले बिर्सनु हुँदैन । कहिले वाहवाह गर्दै थपडी बजाउने र कहिले विरोधमा कुर्लिने हाम्रो बानी छ । कूटनीतिमा त्यस्तो हुनु हुँदैन । कूटनीतिमा शान्त र मर्यादित बाटो अँगाल्नुको विकल्प छैन । 

(उपाध्याय कांग्रेस नेता तथा भारतका लागि नेपालका पूर्वराजदूत हुन् ।)
 

  • प्रकाशित मिति : असार २, २०७७ मंगलबार ६:५९:२८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया