दृष्टिविहीन वृद्धाकाे घरभित्रैबाट खानेपानीकाे पाइप !

 भरतपुर–२१ पार्वतीपुर स्थित सकुमबासी टोलमा अहिले खानेपानी बिस्तारको काम भइरहेको छ । सडक छेउबाट खानेपानी पाइप बिछ्याउने काम हुँदै थियो । पाइप विछ्याउनका लागि खाल्डो खन्ने क्रममा पदमबहादुर अधिकारीको घर आयो ।

घरभन्दा दायाँबायाँ जग्गा खाली भएपनि वडाले घरभित्रबाटै पाइप बिछ्याउन काम थाल्यो । अधिकारीको घर कोठा भित्र धमाधम खनेर पाइप विछ्याउन तयार पारियो । जम्मा ५० सेमि मात्र घर परेकोमा घरलाई छलेर लानुको सटटा घर भित्रै सुरुङ खनेको फोटोहरु सामाजिक संजालमा भाइरल बनेका छन् । ५० सेमी पाइप बगाएर पनि लान सकिने विकल्प हुँदा हुँदै घर नै फोडेकोमा स्थानीयले आपत्ति जनाएका छन् । खानेपानी विस्तारमा पोलिथिन पाइप प्रयोग भएको छ ।

पदमबहादुरकी आमा ९५ वर्षीया छिन् । आमा जन्मजात दृष्टिविहीन हुन् । छोरा पनि सामान्य अपागंता भएका व्यक्ति हुन् । ‘घर भित्रै सुरुङ बनाएर कस्तो काम हुन लागेछ भनी म त्यहाँ पुगे, अधिवक्ता समेत रहेका स्थानीय नारायण गिरीले भने,‘मानवीय संवेदना नै हराएको देख्दा दुख लाग्यो ।’

अपांगता भएका व्यक्तिहरुलाई राज्यले संरक्षण र विशेष हेरचाह गर्नुपर्नेमा विकासको नाममा झनै पीडित बनाएको देखेपछि आफूले जनप्रतिनिधि समक्ष कुरा लगेको अधिवक्ता गिरीले बताए । ‘दायाँ वायाँ खाली जग्गा हुँदाहुँदै पनि किन घर नै भत्काएर लानु प¥यो ?, अधिवक्ता गिरीले सामाजिक संजालमा लेखेका छन,‘सिंहदरवार मात्रै होइन गाउँका शासकहरु पनि अन्धा हुँदा रहेछन् ।’

वडाअध्यक्ष के भन्छन्–
भरतपुर–२१ का वडाअध्यक्ष चित्रसेन अधिकारी आफै संयोजक रहेको पार्वतीपुर खानेपानी आयोजनाले अहिले पाइप विस्तारको काम धमाधम गरिरहेको छ । वडाअध्यक्ष अधिकारीले सामाजिक संजालमा घरमै सुरुङ खनेको विषय सार्वजनिक भएपछि आफूले चासो दिएको बताए ।



आइतबारको यस घटनामा बेलुका घरका पीडित व्यक्तिहरुसँग भेट हुँदा आफूहरुले सहमतिमै खन्न दिएको भनेकोमा घटनालाई अतिरञ्जना गरिएको वडाअध्यक्ष अधिकारीले बताए । सडक क्षेत्र छलेर लैजादाँ खेर घर परेको उनले बताए ।

राजनीतिक दल अनुगमन समिति र जनप्रतिनिधिको वैठक राखेर यस विषयमा छलफल गरिने उनले बताए । ‘म पनि जिम्मेवारीबाट पन्छिन, तर अरु स्थानमा समस्या नहुने त्यही समस्या हुने भन्ने विषय राजनीतिकरण गर्न खोजिएको हो, उनले भने ।



  • प्रकाशित मिति : असार २, २०७७ मंगलबार ७:३६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया