‘डेक्सामेथासोन’ले कोरोना संक्रमितको ज्यान जोगाउने बेलायती वैज्ञानिकको दाबी

जोर्नी दुख्ने तथा दमलगायतका रोगमा लामो सयमदेखि प्रयोग भइरहेको सस्तो र सुलभ डेक्सामेथासोन औषधिले कोरोनाका गम्भीर बिरामीलाई पनि बचाउन सकिने निष्कर्ष बेलायतका वैज्ञानिकले निकालेका छन्।  

अनुसन्धानकर्ताका अनुसार यो औषधिले भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका ८ बिरामीमध्ये १ तथा र अक्सिजन दिनुपर्ने २५ कोरोना संक्रमितमध्ये एक जनाको ज्यान जोगाउन सकिने देखिएको हो। 

यो औषधि बेलायतमा सुरुमै प्रयाेग गरिएकाे भए ५ हजार जना कोरोनाका बिरामी बचाउन सकिने देखिएकाे त्यहाँका अनुसन्धानकर्ताले बताएका छन्। यो औषधिको मूल्य पनि सस्तो तथा जहाँसुकै पाइने भएकाले यसले कोरोना संक्रमण फैलिएका गरिब देशलाई निकै ठूलो राहत पुग्ने उनीहरूको भनाइ छ।  

‘कोरोना संक्रमित २० बिरामीमध्ये १९ बिरामी त अस्पताल भर्ना नभइ निको हुन्छन् । अस्पताल भर्ना भएका पनि निको हुन्छन् तर, केहीलाई भने अक्सिजन वा भेन्टिलेटरको आवश्यकता हुन्छ । यी बिरामीहरु जोखिममा हुन सक्छन् जसमा डेक्जामेथासोनले सहयोग गर्ने देखिन्छ,’ बीबीसीले लेखेको छ ।

यो औषधि विभिन्न अवस्थामा शरीर सुन्निएको असर कम गर्न प्रयोग भइसकेको छ र यसले त्यसबाट निम्त्याउने असरबाट बचाउन सहयोग गर्छ ।

यो ट्रायल अक्सफोर्ड युनिभर्सिटीको टिमले गरेको हो । यो ट्रायलमा अस्पतालमा उपचाररत २ हजार कोरोनाको बिरामीलाई डेक्जामेथासोन दिइएको थियो र ४ हजार जनासँग जसले यो औषधि पाएनन् उनीहरुसँग तुलना गरिएको थियो ।

भेन्टिलेटरमा रहेका बिरामीमा हुने मृत्युको जोखिमलाई ४० प्रतिशतबाट २८ प्रतिशतमा ल्याउन सक्ने तथा अक्सिजन चाहिने बिरामीको मृत्युको जोखिमलाई २५ प्रतिशतबाट २० प्रतिशतमा झार्न सक्ने वैज्ञानिकको दाबी छ ।

प्रमुख अनुसन्धानकर्ता प्रा. पिटर हर्बीका अनुसार हालसम्म यही मात्र औषधिले तुलनात्मक रुपमा मृत्यु दर घटाउन सफल रहेको दाबी गरेका छन् । ‘यसले उल्लेख्य रुपमा मृत्युदर घटाउँछ । यो मेजर ब्रेकथ्रु हो,’ उनले भने ।

मुख्य अध्ययनकर्ता प्रा. मार्टिन लान्ड्रेले यो अध्ययनले भेन्टिलेटरमा उपचाररत ८ जना बिरामीमध्ये एकको ज्यान बचाउन सक्ने दाबी गरे । साथै अक्सिजन सपोर्टमा रहेका २० देखि २५ जनामा एकजनालाई बचाउन सकिन्छ ।

प्रा. लान्ड्रे भन्छन्, ‘यसबाट स्पष्ट फाइदा मिल्छ । यो औषधिको उपचार करिब १० दिनसम्म गरिन्छ । यसको मूल्य ५ पाउन्ड रहेको छ । ३५ पाउन्ड जति खर्च भएमा जीवन बच्छ । यो विश्वभर पाइन्छ ।’

उनका अनुसार अस्पतालमा उपचाररत बिरामीलाई ढिला नगरिकन यो औषधि दिन थालिहाल्नुपर्छ । ‘स्वासप्रस्वासमा कुनै पनि समस्या नदेखिएका बिरामीले यसको सेवन गर्नु हुँदैन । साथै कसैले पनि घरमै बसेर यसको प्रयोग पनि गर्नु हुँदैन ।’

कोरोना भाइरसको विरुद्ध हाइड्रोक्लोरोक्विन पनि प्रयोग गरिएको थियो । तर, त्यसले विभिन्न असर तथा मुटुमा समस्या ल्याउने देखिएपछि प्रयोगमा आएको छैन । त्यसैगरी एन्टिभाइरल ट्रिटमेन्टका लागि रेमडिसिभर पनि प्रयोगमा आएको छ । यो चाहिँ कोभिडका बिरामीहरुलाई केही हदसम्म फाइदाजनक नै मानिएको छ । यो औषधि इबोलाको उपचारको लागि पनि प्रयोग भएको थियो । यसले कति दिनमा ठिक गर्छ र मृत्युदर कति घटाउँछ भन्ने स्पष्ट भएको छैन । साथै यसको थोरै उपलब्धता हुनु र मुल्य पनि तोकिएको छैन ।

डेक्जामेथासोन पहिलो पटक १९६० को दशकदेखि आर्थराइटिस र आस्थमाका लागि प्रयोग हुँदै आएको छ ।





  • प्रकाशित मिति : असार २, २०७७ मंगलबार २३:३७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया