कोरोना नियन्त्रणबारे संसदमा का‌ग्रेसकाे ध्यानाकर्षण प्रस्ताव दर्ता

काठमाडौ‌– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको छ । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड, सचेतक पुष्पा भुसाल र सांसद गगन थापाले ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका हुन् ।

कोरोना नियन्त्रणका लागि सरकारले गरेको प्रयास प्रभावकारी नभएको र सरकारी प्रयासबारे समीक्षा गर्न जरुरी रहेको ठहर गर्दै ध्यानाकर्षण प्रस्ताव दर्ता गराइएकाे हाे । ​ध्यानाकर्षणपत्रमा कोरोना नियन्त्रणका लागि भएको काम प्रभावकारी नभएको, खरिदमा भ्रष्टाचार भएको, क्वारेन्टिन गुणस्तरहीन रहेको उल्लेख छ ।

त्यस्तै, विदेशमा अलपत्र परेकालाई फिर्ता ल्याउन पहल गर्नुपर्ने, पिसिआर परिक्षणको दायर बढाउनुपर्ने, आरडिटी परिक्षण बन्द गर्नुपर्ने, कोरोना विशेष अस्पतालमा सेवा थप्नुपर्ने लगायत विषय समावेश छन् ।

सांसदले दर्ता गराएको ध्यानाकर्षणलाई सभामुखले सम्बन्धित मन्त्रीसँगको समन्वयमा छलफलको मिति तोक्नुपर्ने र छलफलमा उठेका प्रश्नको जवाफ मन्त्री दिनुपर्ने व्यवस्था छ।

कांग्रेसकाे ध्यानाकर्षण पत्रका १० बुँदा

१‍. परीक्षण सम्बन्धी मापदण्डको परिमार्जन, PCR विधीबाट हुने परीक्षणको गतिमा तिव्रता र दायरा फराकिलो बनाउने सम्बन्धमा,



२‍. RDT विधिबाट गरिएको परीक्षणको विश्वसनीयता, गुणस्तर र औचित्यता नभएकोले यसलाई तत्काल बन्द गर्ने सम्बन्धमा,

३. कोरोना भाइरस सम्बन्धि क्वारेन्टाइन संचालन तथा व्यवस्थापन गर्न बनेको मापदण्डको कार्यान्वयका र क्वारेन्टाइनलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्न तथा स्थानीय सरकारलाई आवश्यक आर्थिक र प्राविधिक स्रोत–साधन तथा जनशक्ति उपलब्ध गराउने सम्बन्धमा,



४‍. कन्ट्याक्ट ट्रेसिङ क्षमतालाई सबलीकरण र विस्तार गरी प्रभावकारी बनाउन तथा स्थानीय तहसंगको समन्वयमा सयौं कन्ट्याक्ट ट्रयासरको परिचालन गरी एकैपटकमा छोटो समयमा ठुलो संख्यामा Contact Tracing गर्नसक्ने चुस्त प्रणालीको विकास गर्ने सम्बन्धमा,

५‍. कोरोना संक्रमणको उपचारका लागि डेडिकेटेड अस्पताललाई आवश्यक उपकरण, सामग्री, औषधी, स्वास्थ्यकर्मीको सुरक्षा सामग्री, आइसोलेसन बेड र जनशक्तिको पर्याप्तता तथा आवश्यक अक्सिजन प्लान्ट, दुर्गम ठाँउमा समेत सघन उपचारको सहज बनाउन क्रिटिकल केयर तालिम लगायतका सम्बन्धमा,

६‍. कोभिड बाहेकका अन्य रोगका विरामीले सहज उपचार पाउने वातावरण, खोप, पोषण जस्ता नियमित कार्यक्रम, गर्भवती महिला, जेष्ठ नागरिक, वालवालिका तथा जोखिममा रहेका समूहहरूको विशेष हेरचाह र नियमित स्वास्थ्य जाँच गर्न पाउने व्यवस्था, एम्बुलेन्स सेवा, नियमित औषधि खानुपर्ने विरामीहरूलाई औषधि उपलव्धताको सुनिश्चितता र स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सुरक्षा सामाग्री, सुरक्षा र सुविधा तथा प्रोत्साहनको व्यवस्था सम्बन्धमा,

७‍. कोभिड १९ को रोकथाम, नियन्त्रण र जोखिम न्यूनिकरणका लागि आवश्यक किट, उपकरण, स्वास्थ्य सुरक्षा सामाग्री लगायतका स्वास्थ्य सामग्रीहरुको समयमै आपूर्ति, भण्डारण र नियमित रुपमा पर्याप्त उपलव्धता गराउने र त्यसको गुणस्तरका सम्बन्धमा,

८‍. स्वास्थ्य सामग्री खरिद, विदेशबाट नागरिक उद्दार, क्वारेन्टाइन व्यवस्थापन, राहात वितरण लगायतका विषयमा भएका अनियमिततका घटना र हालसम्म भएको भनिएको १० अर्वको खर्चको विवरणका सम्बन्धमा,

९‍. लकडाउनको अवधिमा सयौं मानिसहरुले आत्महत्या गरेका छन्। यसले नागरिकको राज्यका प्रति चरम निराशा देखाउँछ। यस किसिमको मानसिक समस्यालाई ध्यान दिँदै त्यसको समाधानका लागि स्थानीय तहसम्म नै मानोसामाजिक परामर्शको व्यवस्था गर्ने सम्बन्धमा,

१०‍. विदेशबाट आउने नेपालीको लागि क्वारेन्टाइन, परीक्षण र परामर्शका लागि आवश्यक प्राविधिक तयारीका सम्बन्धमा।

  • प्रकाशित मिति : असार ३, २०७७ बुधबार १८:३५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया