सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अन्ततः १० असारका लागि स्थायी कमिटी बैठक बोलाएको छ । यसअघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा स्थायी कमिटी बैठक बोलाउनु पर्ने चर्को माग उठेको थियो । तर, सत्ता समीकरण र सचिवालय नेताहरुको गुटबन्दीमा त्यति बेला नेकपा अध्यक्ष ओलीले व्यवस्थापन गर्न सकेपछि यो बैठक सारिएको थियो ।
पहिले २५ वैशाखमा र पछि ३१ वैशाखका लागि बोलाइएको स्थायी कमिटी बैठक यसै टरे । ३१ वैशाखमा नेकपाका स्थायी कमिटी सदस्य भीम रावलको सुरक्षार्थ खटिएका एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि यो बैठक स्थगित भएको थियो ।
अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल गर्ने भनि बोलाइएका नेकपाका दुई सचिवालय बैठक पनि स्थगित भएका छन् ।
फरकधारसँग बिहीबार विहान कुराकानी गर्दै नेकपा महासचिवल विष्णु पौडेलले भने, ‘१० असारमा बोलाइएको स्थायी कमिटी बैठकमा एमसिसी र अन्य विषयमाथि छलफल हुने छ ।’
सरकारले एमसिसी संसदको यही अधिवेशनबाट टुङ्गोमा पुर्याउने तयारी गरेको छ । यसअघि सम्झौता भएअनुसार खासमा एमसिसी असोज अगाडि नै संसदबाट अनुमोदित भइसक्नु पर्ने थियो । अब असार १६ सम्म पनि एमसिसी पारित नभएमा यो सम्झौता के हुने भन्ने आशंका थप बढ्दै जाने देखिन्छ ।
‘स्थायी कमिटी बैठकमा यसबारे गहन छलफल हुनेछ र निष्कर्ष निस्किनेछ भन्ने विश्वास छ,’ पौडेलले फरकधारसँग भने, ‘अहिले नै यसबारे थप भन्न सकिएन ।’
१० असारका लागि बोलाइएको बैठकमा यसअघि केन्द्रीय कमिटीबाट आवाज उठेपछि नेकपाले बनाएको एमसिसी अध्ययन कार्यदलको प्रतिवेदनमाथि चर्चा हुने निश्चित छ । नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवाली र भीम रावलको सदस्यतामा एमसिसी अध्ययन कार्यदल बनाएको थियो । कार्यदलले परिमार्जन नगरी एमसिसी अहिलेकै अवस्थामा पारित गर्न नहुने सुझाव दिएको छ ।
यो सुझावमा प्रदीप ज्ञवालीले फरक मत राखेका छन् ।
बुधबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा स्थायी समिति बैठक बोलाउने समय तय भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।