ताइवान मामलामा चीनले खोज्यो नेपालको साथ

काठमाडौं– तिब्बत मामलामा एक चीन नीति स्वीकार गर्दै आएको नेपालसँग चीनले ताइवान मामलामा पनि नेपालको साथ खोजेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का नेताहरुबीचको भर्चुअल अन्तर्क्रियामा चीनले सो अपेक्षा गरेको हो । 

ताइवानको मामलामा अमेरिकाले चीनलाई साथ नदिइरहेको अवस्थामा चीनले नेपालको साथ खोजेको हो । शुक्रबारको भर्चुअल अन्तर्क्रियामा बोल्दै सिपिसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओले ताइवानको सन्दर्भमा नेपालको मान्यताको निरन्तरताको अपेक्षा रहेको बताए ।  

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएसँगै उनले ताइवानका साइ इङ वेनसँग प्रत्यक्ष कुराकानी गर्न थालेका थिए । अमेरिकाको साथ पाएपछि ताइवानले आफूलाई छुट्टै देशको रुपमा मान्नुपर्ने जिकिर गर्दै आएको छ । तर, चीनले ताइवानलाई आफ्नो एउटा प्रदेश मान्छ । 

ताइवानलाई संयुक्त राष्ट्रसंघले पनि अलग देशको मान्यता दिएको छैन । राष्ट्रसंघले मान्यता नदिएपछि अरू देशले पनि कूटनीतिक सम्बन्ध तोड्न थालेका छन् । यसले चीनको दाबीलाई केही मद्दत गरेको छ । 

नेपालले तिब्बत, हङकङ र मकाउका सन्दर्भमा जस्तै ताइवानको सन्दर्भमा पनि ‘एक चीन नीति’मा अवलम्बन गर्ने अपेक्षा शुक्रबारको बैठकमा चिनियाँ पक्षले राखेको थियो ।  

चिनियाँ पक्षले अन्तर्क्रियामा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका बेला भएका सहमति कार्यान्वयनको चरणमा रहेको जानकारी गराएको थियो । 





  • प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार १७:३३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया