राजविराजको क्वारेन्टिनबाट भागिन् एक किशोरी

राजविराज नगरपालिकाको क्वारेन्टिनबाट एक किशोरी भागेकी छिन् ।

राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टिनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाएको थियो । अहिले यही क्वारेन्टिनबाट १६ वर्षीया किशोरी फरार भएकी हुन् ।

सबै जना सुतेको बेला मध्यरातमा विद्यालयको पछाडिबाट भागेको हुनसक्ने क्वारेन्टिनका इञ्चार्ज हरिवंश यादवले बताए ।

यादवका अनुसार क्वारेन्टिनमा बसेकाको गन्ती गर्ने क्रममा फेला नपरेपछि मात्र किशोरी भागेको पत्ता लागेको हो ।

क्वारेन्टिनमा खटिएका महिला स्वास्थ्यकर्मीका अनुसार उनी २ महिनाकी गर्भवती छिन् ।    

झ्यालको फलामे छड बङ्ग्याएर भागेको अनुमान गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले किशोरीको खोजी गरिए पनि हालसम्म फेला नपरेको बताए ।



भारतको दिल्लीबाट आएकी किशोरी जेठ २५ गतेदेखि क्वारेन्टिनमा बस्दै आएकी थिइन् ।

गत माघ १३ गते एक युवकसँग भागेर भारतको दिल्ली गएकी किशोरीलाई उनकी आमाले बोलाएपछि राजविराज आएकी हुन् ।



राजविराज आएपछि क्वारेन्टिनमा बसेको १० दिनपछि भागेकी ती किशोरी जान सक्ने घर, माइत, आफन्तकहाँ खोजी गरे पनि फेला नपरेको प्रहरीको भनाइ छ ।

यसअघि सोही क्वारेन्टिनबाट रिपोर्ट नआउँदै घर पुगेका राजविराज–१ का ३० वर्षीय युवकको रिपोर्ट पोजेटिभ आएपछि मङ्गलबार नियन्त्रणमा लिई राजविराज–२ स्थित साइकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेसन केन्द्रमा राखिएको छ ।

युवकको सम्पर्कमा रहेकालाई पनि क्वारेन्टिनमा ल्याएर राखिएको इञ्चार्ज यादवले बताए । 
 

  • प्रकाशित मिति : असार ६, २०७७ शनिबार १०:३०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया