लगानी बोर्डले स्वीकृत गर्यो पौने २ खर्बका विभिन्न सात परियोजना
पाँच जलविद्युत् र दुई सिमेन्ट उद्योगका लागि करिब पौने २ खर्ब लगानी स्वीकृत

 

लगानी बोर्डले विभिन्न सातवटा परियोजनाको लगानी स्वीकृत गरेको छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको ४४औँ बैठकले एक खर्ब ८५ अर्ब ४३ करोड रुपैयाँ बराबरको योजना स्वीकृत गरेको हो । 
बोर्डबाट पाँचवटा जलविद्युत् परियोजना र दुईवटा सिमेन्ट उद्योगका लागि उक्त रकम बराबरका सात परियोजना स्वीकृत भएको हो ।

बैठकले माथिल्लो मस्र्याङ्दी जलविद्युत् परियोजना–२ का लागि ७८ अर्ब ६५ करोड रुपैयाँ स्वकिृत गरको छ । परियोजनाको उत्पादन क्षमता ३२७ मेगावाट रहेको छ । 
त्यस्तै, बोर्डले ४२.९ मेगावाट क्षमताको  आँखुखोला जलविद्युत् परियोजनाका लागि ६ अर्ब ३० करोड लगानी स्वीकृत गरेको हो । 
बैठकले ९७.२ मेगावाटको इसुवाखोला जलविद्युत्का लागि  १३ अर्ब ५७ करोड, ५७.३ मेगावाटको म्याग्दी खोलाका लागि १० अर्ब ३१ करोड र १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाका लागि २८ अर्ब ६ करोडबराबरको लगानी स्वीकृत गर्ने निणर्यसमेत  गरेको छ ।
त्यसैगरी बैठकबाठ दाङ सिमेन्ट इन्डस्ट्रिज र सम्राट सिमेन्ट उद्योगको लगानीसमेत स्वीकृत भएको छ । 
दाङ सिमेन्ट इन्डस्ट्रिजका लागि ३२ अर्ब ५० करोड तथासम्राट सिमेन्ट उद्योगको  १५ अर्ब ५ करोड रूपैयाँ बराबरको लगानी स्वीकृत गरेको बोर्ड बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी बैठकले बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगङ्गामा छुट्टाछुट्टै सौर्य ऊर्जा परियोजनाको अध्ययन गर्न राइजेन इनर्जी सिङ्गापुर जेभी पिटिई लिमिटेडलाई सर्वेक्षणको अनुमति  पनि दिएको छ ।
सौर्य उर्जा २० मेगावाट स्टोरेज क्षमतासहितको १२५ मेगावाटको हुने बताइएको छ । 
दुवै योजना सार्वजनिक–निजी साझेदारीमा विकास तथा सञ्चालनको मोडलमा बनाइने बताइएको छ ।
साथै बैठकले कोरोनाका कारण उत्पन्न परिस्थितिका यसअघि नै स्वीकृत परियोजनाको   विस्तृत अध्ययन प्रतिवेदन पेश गर्ने समयावधिसमेत थप्ने निर्णय गरेको छ ।
योसँगै नेपाल–चीन मैत्री औद्योगिक स्थल, दमक, मुक्तिनाथ केबलकार, मल्टिमोडल लजिस्टिक्सजस्ता परियोजनाको अध्ययन प्रतिवेदन पेश गर्ने समयावधि थपिएको छ ।





  • प्रकाशित मिति : असार ६, २०७७ शनिबार १३:२९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया