गर्भ एउटाको, विवाह अर्कैसँग...

एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन् ।

तीन महिनाकी गर्भवती पीडितले आरोपित लाबबहादुरको बलात्कारबाट गर्भ रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत मङ्गलबार दिएको उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

बालिकाले गाईबस्तुका लागि घाँस काट्न खोलाको चौरीतिर गएको बेला एक्लै भएको मौका पारी लालबहादुरले भुइँमा लडाई बलात्कार गरेको र उनकै गर्भ रहेको बताएपछि कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।
विवाहित लालबहादुर एक छोरा र एक छोरीका बुबा हुन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण तथा भिडिओ एक्सरे गरिएको छ ।

यसअघि गाउँमा भएको पञ्चेती (छलफल) ले गर्भवती बालिकाको विवाह वैशाख २८ गते गाउँकै १८ वर्षीय बालकसँग गरिदिएको स्थानीय गीता देवले बताइन् ।

“उतिबेला गाउँमा भएको पञ्चेतीमा बालिकाले एउटाको गर्भ रहेको बताइन्, अहिले लालबहादुरको गर्भ भन्दै उजुरी दिइन्”, उनले भनिन्, “यसरी कुरो फेरेपछि गाउँभरि तनाव बढेको छ ।”

पीडितले गाउँको भेलामा पञ्चेती गर्ने बचाई मुखिया र किसुन मुखियाले सिकाएअनुसार आफूले उतिबेला झुटो कुरा बोलेको बताएपछि अनुसन्धानका लागि प्रहरीले पञ्चलाई समेत आइतबार नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको थियो ।



बालिकाको बयानका आधारमा दुई जना पञ्चलाई समेत सोधपुछका लागि ल्याइएको र उनीहरूलाई तारेखमा रिहा गरिएको प्रनाउ भारतीले जानकारी दिए ।
प्रनाउ भारतीले लालबहादुरविरुद्ध बलात्कारको उजुरी दर्ता गरी थप अनुसन्धान थालिएको बताए ।

बलात्कारको उजुरी दर्ता भएपछि अहिले पञ्च बालिकाको बयान परिवर्तन गराउन र बालिकाको विवाह आरोपितसँग गराई दिन सक्रिय भएका छन् ।



बालिकाले कहिले पञ्चले सिकाएर त कहिले विवाह गरेका किशोरको आमाले सिकाएर बोली परिवर्तन गरेको स्थानीयवासीको भनाइ छ । बालिकाले भने आफू निकै दबाब र मानसिक तनावमा परेको बताएकी छिन् ।

ग्रामीण भेगमा कानूनभन्दा व्यवहार ठूलो भन्ने मान्यता रहेकाले गाउँहरूमा कथित बोक्सी, बालविवाह, बलात्कार, बहुविवाह, चोरी, लागू औषध, कुटपिटलगायत सबैजसो घटनामा पञ्चायत बसेर निर्णय गर्ने चलन रहेको अधिवक्ता तथा अधिकारकर्मी मीना देव बताउँछिन् ।

धेरैजसो महिला हिंसाका घटना गाउँघरमै बसेर टुङ्ग्याइने गरेकाले महिलाले असुरक्षित महसुस गरिरहेको उनको भनाइ छ । 

  • प्रकाशित मिति : असार ८, २०७७ साेमबार ९:५०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया