राज्य व्यवस्था समितिले पारित गरेको नागरिकता विधेयक सम्वन्धमा राष्ट्रिय सभाका सांसदहरुले आपति जनाएका छन् ।
नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्र नागरिकता दिने प्रावधानको सांसदहरुले विरोध गरेका हुन् ।
सोमबारको राष्ट्रिय सभा बैठकको बिशेष समयमा काँग्रेस सांसद जितेन्द्र नारायण देवले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिने प्रावधानप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै यसले देशलाई नै विभाजनतिर धकेल्ने बताए ।
‘नागरिकतासम्बन्धी नेकपा सचिवालयको निर्णयले अत्यन्त अदूरदर्शी, अपरिपक्व, साम्प्रदायिक दंगा भड्काउने र प्रकारान्तरमा मुलुकलाई विभाजनतिर लैजाने भएको छ,’ सांसद देवले भने, ‘वैवाहिक अंगीकृत नागरिकताको विषयमा नेकपाको सचिवालयले जे निर्णय गर्यो । त्यसमा गम्भिर ध्यानाकर्षण भएको छ ।’
विहारी र युपीसँगको नेपाली सम्बन्धलाई योजनावद्ध ढंगले तोड्नुपर्छ भन्ने नेकपाको मानसिकता भएको आरोपसमेत उनले लगाए ।
नेकपाले सहमतिको यो निर्णय तोडेमा राजनीतिक दुर्घटना हुने उनको भनाइ छ ।
जसपा सांसद मृगेन्द्र कुमार सिंहले बहुमतको दम्भ देखाउँदै राज्य व्यवस्था समितिले गरेको निर्णयले देशमा मुठभेड निम्याउन सक्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।