काठमाडौं– समाजवादी पार्टीको पदाधिकारी बैठकले सांसद सरिता गिरीसँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ । उनलाई स्पष्टीकरणका लागि सात दिनको म्याद दिइएको छ ।
नेपालले नयाँ नक्सा जारी गरेर देशको निशाना छापमा राख्न गरिएको संविधान संशोधन विधेयकप्रति असहमति जनाउँदै गिरीले संसदमा व्यक्तिगत रुपमा संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । उनको प्रस्तावमा प्रक्रिया नपुगेको भन्दै सभामुख अग्नि सापकोटाले खारेज गरिदिएपछि गिरीले संसदमा हुने मतदान बहिस्कार गरेकी थिइन् ।
मतदान हुनुअघि पार्टीले उनलाई संशोधन फिर्ता गर्न निर्देशन दिँदै प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको थियो । संसदीय दलको निर्देशनविपरित सरकारी विधेयकको विरुद्धमा उभिएको र विधेयक नै फिर्ता लिन गरिएको निर्देशन नमान्नुको कारणसहित पार्टीले सोमबार स्पष्टीकरण मागेको हो ।
आज बसेको पदाधिकारी बैठकले सांसद गिरीलाई स्पष्टीकरण सोध्दै सात दिनभित्र आउने जवाफका आधारमा कारबाही गर्ने वा नगर्ने निर्णय हुने जनाएको छ ।
बैठकले छानबिनका लागि पार्टीका महासचिव रामसहाय यादवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य छन् ।
बैठकले नेपाली पुरुषसँग विदेशी महिलाले विवाह गरेको सात वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता पाउने संसदीय समितिको निर्णयको भने विरोध गरेको छ । विद्यमान व्यवस्थालाई नै निरन्तरता दिन सो पार्टीले आग्रह गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।