चार्टड उडानमार्फत नेपाली आउने क्रम जारी
शनिबार अस्ट्रेलियाबाट आउँदै छन् २५९ नेपाली


त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एक सातादेखि नियमित रुपमा विभिन्न देशमा चार्टर उडान भइरहेको छ । 

चार्टड उडानबाट कोरोनाका कारण विभिन्न देशमा अलपत्र परेका नेपाली धमाधम स्वदेश फर्किरहेका छन् ।
नेपालबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले अन्तरराष्ट्रिय गन्तव्यबाट चार्टर उडान गरी नेपालीलाई स्वदेश काठमाडौं ल्याइरहेका छन् । 

विदेशी विमान कम्पनी कतार एयरवेज, जजिरा एयर, टर्किस एयर, कोरियन एयर लगायतले पनि नेपालमा चार्टर उडान गरिरहेका छन् ।
त्यसैगरी, आन्तरिक तर्फ श्री एयरले छोटा गन्तव्यबाट केही चार्टर उडान गरिरहेको छ ।

 अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका अनुसार शनिवार नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र जजिरा एयरले चार्टर उडानमार्फत नेपाली ल्याउँदै छन् ।
शनिवार बिहान ८ः३० बजे हिमालय एयरलाइन्सले अबुदाबीबाट नेपाली ल्याएको छ भने जजिराले ८ः४८ बजे कुवेतबाट नेपालीको उद्धार गरेको छ ।

 त्यस्तै, नेपाल एयरलाइन्सले बिहान १०ः३० बजे साउदी अरेबियाको रियादबाट नेपाली काठमाडौं ल्याएको विमानस्थल कार्यालयले जनाएको छ । 
साथै, शनिवार नेपाल एयरलाइन्सले अष्ट्रेलियाबाट दोस्रो चार्टर उडान गर्ने भएको छ ।
 
नेपाल एयरले मेलबर्नबाट २५९ जना नेपाली काठमाडौं ल्याउने विमानस्थलले जानकारी दिएको छ ।

अन्तरराष्ट्रिय विमानस्थलमा अघिल्लो शनिवारदेखि दैनिक १० देखि १६ वटासम्म अन्तरराष्ट्रिय उडान भइरहेको छ । 



शुक्रवार मात्रै १६ अन्तरराष्ट्रिय उडान भएको कार्यालयको तथ्यांक छ । 
सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करीब ३० हजार नेपाली जहाज चार्टर गरेर ल्याउने निर्णय गरेको थियो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको बताइएको छ । 
त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ ।



  • प्रकाशित मिति : असार १३, २०७७ शनिबार १३:४७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया