लकडाउनको तीन महिने अवधिमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट २३४ ओटा अन्तरराष्ट्रिय उडान भएका छन् ।
तीन महिनाको अवधिमा यात्रु चार्टर तथा कार्गो उडान गरी करिब २५ हजार हाराहारी यात्रु अन्तरराष्ट्रिय विमानस्थलबाट आवत जावत भएको विमानस्थलले बताएको छ ।
यी उडानबाट ११ हजारभन्दा बढी यात्रु नेपाल आएका छन् भने १३ हजार यात्रु नेपालबाट बाहिरिएका छन् ।
विमानस्थल कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार ११ चैत देखि १२ असारसम्म कार्गो र चार्टर गरी २३४ अन्तरराष्ट्रिय उडान भएको छ ।
यो अवधिमा विभिन्न मुलुकबाट ४ लाख ९२ केजी कार्गो नेपाल आएको छ भने नेपालबाट पनि ४१ लाख ७२ हजार ७७ केजी कार्गो विभिन्न मुलुक गएको कार्यालयको तथ्यांक छ ।
नेपाल एयरलाइन्सले मात्रै कार्गो र यात्रु चार्टर गरी ५१ ओटा उडान गरेको छ । यो शनिबारसम्मको पूर्वनिर्धारित उडान हो । जुलाई महिनाका लागि चार्टर उडानको नयाँ उडान तालिका आउने निगमले जनाएको छ ।
लकडाउनको समयमा नेपाल एयरलाइन्सले एकै दिन आठ वटासम्म अन्तरराष्ट्रिय उडान गरेको छ ।
नेपाल एयरलाइन्सको अपरेशन विभागका अनुसार निगमका दुई ओटा वाइड बडी र दुई ओटा न्यारो बडी जहाजले शुक्रवार सबैभन्दा धेरै आठ ओटा उडान गरेका छन् ।
असारमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट निरन्तर अन्तरराष्ट्रिय उडान भइरहेको छ । असारको पहिलो सातादेखि दैनिक १० देखि १६ अन्तरराष्ट्रिय उडान भएको छ ।
गत चैत १० गतेदेखि नेपालमा अन्तरराष्ट्रिय उडान गर्ने सबै एयरलाइन्सको उडान स्थगन गरिएको छ । आन्तरिक उडान पनि हाललाई स्थगित छ । पछिल्लो पटक असारको अन्तिम सातासम्म उडान प्रतिबन्ध कायम गरिएको छ । पछिल्लो पटक सरकारले विभिन्न मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टर उडान गरिरहेको छ ।
चैत ११ देखि जेठ ३२ गतेसम्म सरकारले देशभर लकडाउन गरेको थियो । असार १ देखि बन्दाबन्दी केही खुकुलो बनाइएको छ ।
अत्यावश्यक कार्यालय, उद्योग, कलकारखाना तथा बजार मात्र खुकुलो बनाइएको छ । यस्तो व्यवस्था असार २१ सम्मका लागि हो । त्यसपछि परिस्थिति हेरेर निर्णय हुने बताइएको छ ।
निगमले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा रहेका विभिन्न मुलुकमा चार्टर उडान गर्ने भएको छ । आगामी जुलाई ८ देखि शान्ति सेना लैजान र उताबाट ल्याउन दुईतर्फी चार्टर उडानको तयारी भएको निगम उच्च स्रोतले जानकारी दिएको छ ।
निगमका वाइडबडी जहाजले कंगो, सुडानलगायत यूएनमीसन भएका मुलुकमा चार्टर उडान गर्ने तयारी भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।