आफूमाथि अन्याय भएको भन्दै न्याय मागे वामदेव गौतमले

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले यसअघि बारम्बार आफूमाथि अन्याय भएको निष्कर्ष निकाल्दै अब आफूलाई न्याय चाहिएको बताएका छन् । 

बालुवाटारमा चलिरहेको नेकपाको स्थायी कमिटी बैठकमा बोल्दै उपाध्यक्ष गौतमले महाकाली सन्धिमा गल्ती भएको र यही विषयमा आफूले कुरा राख्दा कारवाही भएको भन्दै न्याय मागेका हुन् । 

बैठकमा बोल्दै गौतमले २५ वर्षअघि आफूले भनेको कुरा अब सही प्रमाणित भएको तर त्यति बेला आफूमाथि अन्याय भएको भन्दै न्याय मागेका हुन् । ‘मैले त्यति बेला महाकाली सन्धि देशको पक्षमा छैन भनेको थिएँ,’ गौतमले भनेका कुरालाई एक स्थायी समिति सदस्यले फरकधारसँग सुनाए, ‘अब त्यो सन्धि गलत भएको प्रमाणित भएको मात्र होइन, ममाथि गरिएको अन्यायका लागि पनि सोच्नु पर्ने भएको छ ।’

गौतमले त्यति बेला आफूमाथि अन्याय गरिएको र अब पार्टीले महाकाली सन्धि गल्ती भएको स्वीकार गर्दै आफूलाई न्याय दिनु पर्ने बताएका हुन् ।

२०५२ सालमा नेपाल र भारतबीच भएको महाकाली सन्धि गलत भएको भन्दै तत्कालीन समयमा गौतमले पार्टी विभाजन गरेका थिए । तत्कालीन एमाले विभाजन भएर नेकपा माले गठन भएको थियो । अहिले पनि गौतमलाई बारम्बार त्यति बेला पार्टी फुटाएको आरोप लाग्ने गरेको छ ।

‘अहिले पनि एमाले फुटाएको दोष मलाई लगाउने गरिएको छ,’ बैठकमा गौतमले भनेका छन्, ‘त्यो अपमान अहिले पनि मैले भोगिरहेको छु, ममाथि अन्याय भएको हो, त्यसैले अब न्याय चाहिन्छ ।’



केहीअघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले दल विभाजनका लागि सहज हुने अध्यादेश ल्याउँदा पनि नेकपामा फुट आउने सम्भावना बढेको थियो । त्यति बेला पनि गौतममाथि फेरि पार्टी फुटाउन लागेको भन्दै नेकपामा व्यापक आलोचना भएको थियो ।



  • प्रकाशित मिति : असार १३, २०७७ शनिबार २२:६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया